भोजपुरको पौवादुङमा गाउँपालिकामा पञ्चकन्या मन्दिर निर्माणका लागि सञ्चालन गरिएको ‘विराट ज्ञानमहायज्ञ तथा पौवादुङमा सांस्कृतिक महोत्सव–२०८३’ बाट कुल रु. १ करोड ७ हजार संकलन भएको छ।
वैशाख ९ देखि १८ गतेसम्म सञ्चालन भएको उक्त धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आय–व्यय सोमबार सार्वजनिक गरिएको हो। महायज्ञ मूल समारोह समितिका संयोजक सन्तोष कोइरालाका अनुसार संकलित रकममध्ये रु. २४ लाख ३८ हजार खर्च भएको छ। खर्च व्यवस्थापन, धार्मिक अनुष्ठान, अतिथि सत्कार, मञ्च व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमा गरिएको हो ।
दाताहरूले कबोल गरेको थप रु. २१ लाख ७६ हजार रकम उठ्न बाँकी रहेको जनाइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार मन्दिर निर्माणका लागि अनुमानित कुल लागत रु. १ करोड ८३ लाख रहेको छ भने हालसम्म करिब ४१ प्रतिशत रकम संकलन भइसकेको छ ।
गाउँपालिका अध्यक्ष किरण राईले दाताको सहयोग रकम वेबसाइटमार्फत सार्वजनिक रूपमा हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिँदै पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखिएको बताए ।
पञ्चकन्या देवीसँग जोडिएको धार्मिक आस्था र सांस्कृतिक महत्व संरक्षण गर्दै उक्त स्थललाई भविष्यमा धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। निर्माण गरिने मन्दिर करिब ३१ फिट अग्लो हुने तथा परम्परागत पुरातात्त्विक शैलीमा तामाको छानासहित निर्माण गरिनेछ।







