संखुवासभा, संखुवासभाको बृहत खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफार्इ संस्थाका दुई जना कर्मचारी पक्राउ परेका छन् । मिटर रिडर विक्रम बराल र पूर्व काउन्टर सहायक सुरेश ढकाल पक्राउ परेका हुन् । खानेपानी कार्यालयको १३ लाख ९५ हजार ४७ रुपैयाँ रकम घोटलाको आरोप लागेका काउन्टर सहायक सुरेश केही दिन अघि पक्राउ परेलगत्तै मिटर रिडर बरालसमेत पक्राउ परेको संस्थाले जनाएको छ।

घोटला गरेको १३ लाख ९५ हजार ४७ रुपैयाँ रकम नबुझाएपछि सुरेशलाई खानेपानी उपभोक्ता समितिले जिल्ला प्रहरी कार्यालयमा गत भदौ ७ गते जाहेरी दिएको थियो । सुरेशलाई जेठ ७ गते अन्तिम म्याद तोके पनि महिनौँ बित्दासमेत घोटलाको रकम नबुझाएको भन्दै प्रहरीलाई जाहेरी दिएका थिए । जाहेरी दर्ता भएपछि प्रहरीले केही दिनअघि पक्राउ गरेको स्रोतको भनाइ छ । प्रहरीले सुरेशलाई आपराधिक विश्वासघातको मुद्दा दर्ता गरेको बताइएको छ।

सुरेशको बयानका आधारमा अर्का कर्मचारी मिटर रिडर विक्रमसमेत पक्राउ परेका हुन्। पक्राउ परेका दुवैको बारेमा छानबिन भइरहेको प्रहरी स्रोतको भनाइ छ। उनीहरू कहिले र कहाँबाट पक्राउ परेका भन्नेबारे प्रहरीले खुलाएको छैन। घोटलाको रकम बुझाइ सकेपछि सुरेशलाई प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध रकम बुझाउनुभन्दा पहिलै उजुरी परेकाले प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ। लामो समयदेखि रकम बुझाउन अटेरी गर्दै आएका उनीविरुद्ध उजुरी परेपछि मात्रै रकम बैंकमार्फत बुझाएका थिए।

उजुरीपछि घोटलाको रकम जम्मा
खानेपानी समितिले जाहेरी दिएपछि सुरेशले भदौ १५ गते घोटला गरेको १३ लाख ९५ हजार जम्मा गरेको समितिले जनाएको छ। समयसीमा सकिएको चार महिना बितेपछि गत भदौमा घोटलाको रकम राष्ट्रिय बैक खाँदबारीमा रकम बुझाएको समितिका अध्यक्ष नरेन्द्र राईले जानकरी दिए।

रकम घोटला गर्ने सुरेशलाई समिति भित्रकै सदस्यले बचाउ गदै कार्वाही गर्न रोकेको बताइएको छ। सुरेशले पानीको महसुल तर्फबाट उठाउन प्रयोग गरेको रसिदको अर्ध कट्टीमा लुकाएर र अर्ध कट्टीमा रद्ध लेखेर रकम हिनामिना गरेको छानबिन समितिले बुझाएको लेखा प्रतिवेदनमा उल्लेख गरिएको छ।

source : थाहा खबर डटकम

तपाईको प्रतिक्रिया