न्यूयोर्क, अमेरिकमा करिब दुई महिनामा नर्सिङ होममा रहेका ११ हजारभन्दा बढी ज्येष्ठ नागरिकको कोरोनाभाइरसका कारण ज्यान गएको छ। वृद्धवृद्धालाई स्याहारसुसारसहित राखिने आ श्रयस्थललाई अमेरिकामा नर्सिङ होम भनिन्छ।
अमेरिकामा वृद्धवृद्धा र अशक्तलाई राख्न झण्डै १५ हजार नर्सिङ केयर होम सञ्चालनमा छन्। तीमध्ये करिब एक तिहाईमा मात्र परीक्षणको व्यवस्था गर्न सकिएको छ। धेरैलाई परीक्षण गर्न नसकिएकाले आ श्रयस्थलभित्र संक्रमितको संख्या निकै धेरै हुन सक्ने अनुमान छ।
‘केयर होममा रहेका सबै व्यक्तिको परीक्षण नगर्ने हो भने यस्ता दुःखद कथाहरु अरु धेरै पढ्न पाउने छौं,’ फेमिलिज फर बेटर केयरका ब्रायन लीले भने, ‘परीक्षण गर्नुपर्ने थाहा हुँदा–नहुँदै धेरै मानिसमा संक्रमण फैलिइसकेको हुनेछ। त्यसपछि त शवको थुप्रो लाग्ने न हो।’
गत साता ब्रुकलिनमा रहेको एउटै नर्सिङ होममा ५५ जनाको ज्यान गयो। त्यसपछि नर्सिङ होमका प्रमुखले वृद्धवृद्धामा सामान्य लक्षण मात्र देखिएको तर कुनै पनि व्यक्ति वा कर्मचारीको कोरोना परीक्षण नगरिएको स्वीकार गरेका थिए।
भर्जिनियाको रिचमन्डस्थित एक नर्सिङ होममा हालसम्म ४९ जना ज्येष्ठ नागरिकको मृत्यु भइसकेको छ। नर्सिङ होमका स्वास्थ्य निर्देशकले किटको अभावका कारण सबै व्यक्तिको परीक्षण गर्न झन्डै दुई हप्ता ढिला भएको स्वीकारेका छन्। परीक्षण गर्दासम्म कोरोनाको फैलावट नियन्त्रण बाहिर पुगिसकेको थियो। पछि परीक्षण गर्दा ९२ जनामा कोरोना पोजेटिभ देखियो।
अमेरिकन हेल्थ केयर एसोसिएशनका प्रमुख कार्यकारी मार्क पार्किन्सनले केयर होममा रहेका वृद्धवृद्धा र कर्मचारीमध्ये अति थोरै प्रतिशतको मात्र परीक्षण भइरहेको बताए। उनको भनाइमा संघीय र राज्य सरकारले शुरुमा नर्सिङ होमलाई खासै प्राथमिकतामा राखेका थिएनन्।
अमेरिकाका झण्डै दुई तिहाई नर्सिङ होममा अझै परीक्षण किटको सहज उपलब्धता छैन। करिब ५० हजार वरिष्ठ स्वास्थ्यकर्मी सदस्य रहेको दिगो स्वास्थ्य सेवा नामको समाजसेवी संस्थाका कार्यकारी निर्देशक क्रिस ल्याक्स्टनको विचारमा नर्सिङ होमले अझै पनि पर्याप्त स्रोतसाधन प्राप्त गर्न संघर्ष गर्नु परिरहेको छ। ‘स्थानीय अस्पताल र स्वास्थ्य विभागसँग राम्रो सम्बन्ध विकास गरेका नर्सिङ होममात्र अहिले भाग्यमानी देखिएका छन्’, उनले भने।
अमेरिकामा हाल दैनिक १ लाख ५० हजार व्यक्तिको परीक्षण भइरहेको छ। सार्वजनिक स्वास्थ्य विशेषज्ञहरुको भनाईमा यसलाई अझ बढाउनुपर्छ। वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले मात्र राज्यका सबै नर्सिङ होममा बिनाशर्त परीक्षण गर्न आदेश दिएका छन्।
न्यूयोर्कका गभर्नर एन्ड्र्यू कुमोले नर्सिङ होमहरुमा भएको संक्रमणलाई ‘सुख्खा घाँसमा लागेको आगो’ को संज्ञा दिएका छन्। उनले नर्सिङ होममा बस्ने र काम गर्ने सबैले २० मिनेटभित्रै नतिजा दिने तिब्र परीक्षण गर्न आवश्यक छ। उनले भने, ‘यो परीक्षण दिनहुँ लाखौंको संख्यामा गर्नुपर्ने हुन्छ।’
कोरोनाबाट ४५ जनाको मृत्यु भइसकेको ब्रोङ्क्सस्थित नर्सिङ होमका मेडिकल निर्देशक डा रोय गोल्डबर्गले अझै पनि सबैको परीक्षण गर्न सम्भव नभएको बताउनुभएको छ। उहाँले ज्वरो वा खोकी देखा परेकाहरूको मात्र परीक्षण गर्ने गरिएको जानकारी दिए।
यस दुर्घटनाहरूको बीचमा आशावादी घटनाहरू पनि देखा परेका छन् जसमा प्रारम्भिक र आक्रामक परीक्षणले ठूलो फरक पारेको छ। विस्कन्सिनको शेबोयगन नर्सिङ होममा दुई जनाको मृत्यु भएपछि स्थानीय अन्य बासिन्दा तथा कर्मचारीहरू बिरामी पर्न थाले। नर्सिङ होमका प्रशासक कोलिन्डा नाप्पाले फोन गरी राज्यका अधिकारीहरूसँग बिन्ती गर्नुभयो, ‘के भइरहेको छ भनेर मलाई थाहा भयो।’
लगत्तै नेसनल गार्डको एउटा ६५ सदस्यीय परीक्षण टोली आइपुग्यो। उनीहरुले टाउकोदेखि पैतालासम्मको सुरक्षा कवच लगाएका थिए। उनीहरुले नर्सिङ होममा रहेका १०० जना र १५० जना कर्मचारीको तुरुन्तै परीक्षण गरे। समग्रमा, १९ जनामा पोजेटिभ देखियो। उनीहरु सबैलाई अहिले त्यही केयर होममा वा घरमा क्वारेन्टिनमा राखिएको छ। अहिले थप व्यक्तिको मृत्यु भएको छैन।
करिब ४३ जना वृद्धवृद्धाको मृत्यु भएको सियाटल क्षेत्रको एउटा नर्सिङ होममा स्वास्थ्य अधिकारीहरुले सामान्य सङ्केत देखिएका सबैको परीक्षण गरेका छन्।राज्यमा कोरोनाभाइरसका ‘हटस्पट’ समाप्त गर्ने भन्दै अरु १९ वटा त्यस्तै नर्सिङ होममा योजनाबद्ध रुपमा परीक्षणहरु केन्द्रित गरिएको छ।
गत हप्ता, वासिङ्टन विश्वविद्यालयका डा थुआन ओङको नेतृत्वमा चिकित्सा टोलीहरुले नर्सिङ होमका कोठा कोठामा गएर सबैको स्वाब सङ्कलन गरेका थिए। उनीहरुले परीक्षण गरेका सबै ११५ जनामा कोरोनाको संक्रमण देखिएन। यो कार्यले सबैमा खुशीको सीमा थिएन। ‘रोग फैलिनुभन्दा अघि यसलाई थाहा पाउनुको महत्व सबैभन्दा बढी छ,’ डा ओङले भने।









