भोजपुर– कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा सांसद राजेन्द्र राईले हल्लाखल्ला, प्रचार र माहोल बनाएर मात्रै देशको विकास सम्भव नहुने बताएका छन् । देश निर्माणका लागि स्पष्ट विचार, सिद्धान्त, दूरदृष्टि र व्यवहारमा कार्यान्वयन गर्न सकिने योजना आवश्यक रहेको उनको भनाइ छ ।
नेपाली कम्युनिष्ट पार्टीको षडानन्द नगर कमिटीको एकता बैठकलाई दिङ्लामा सम्बोधन गर्दै राईले पछिल्लो समय उदय भएका राजनीतिक दलहरूप्रति संकेत गर्दै यस्तो धारणा राखेका हुन् । उनले श्रम संस्कृति पार्टी र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलको राजनीतिक गतिविधिलाई संकेत गर्दै देशको भविष्य निर्माण गर्न लोकप्रियता र हल्लाभन्दा विचार तथा सिद्धान्त महत्वपूर्ण हुने बताए ।
राईले नेपाली कम्युनिष्ट पार्टीसँग देशलाई स्वच्छ ढंगले विकसित बनाउने स्पष्ट विचार र सिद्धान्त रहेको दाबी गरे । कम्युनिष्टहरूले वर्तमान राजनीतिक व्यवस्था स्थापनाका लागि लामो संघर्ष र बलिदानी गरेको स्मरण गराउँदै उनले अहिलेको व्यवस्थामा टेकेर विकासका लागि ठूलो बजेट खर्च भइरहेको बताए । उनले विगतको पञ्चायतकाल र अहिलेको अवस्थालाई तुलना गर्दै जनताको अपेक्षा र राजनीतिक चेतनामा आएको परिवर्तनबारे चर्चा गरे । पञ्चायतकालमा गाउँमा एउटा मात्रै विकास योजना ल्याउँदा पनि जनता खुसी हुने गरेको उल्लेख गर्दै राईले अहिले धेरै योजना सञ्चालन भइरहँदा पनि जनतामा सन्तुष्टिभन्दा आलोचना र गुनासो बढी देखिने गरेको बताए ।
उनका अनुसार अहिले विकासका योजना र बजेटको मात्रा बढे पनि त्यसको सकारात्मक पक्षलाई मूल्यांकन गर्ने तथा काम गर्नेहरूलाई उचित जस दिने राजनीतिक संस्कार कमजोर हुँदै गएको छ । विकास निर्माणमा योगदान गर्ने व्यक्ति र संस्थाको कामको मूल्यांकन गर्नुपर्ने उनको जोड थियो । यसैबीच, रास्वपाका सांसदहरूलाई संकेत गर्दै राईले सम्पत्ति आर्जनको विषयमा प्रश्न उठाए । मानिसले मुख्यतः दुई तरिकाले सम्पत्ति आर्जन गर्ने उल्लेख गर्दै उनले भ्रष्टाचार, चोरी र लुटपाटबाट वा मेहनत र परिश्रमबाट सम्पत्ति कमाउन सकिने बताए । ३०÷३५ वर्षकै उमेरमा सयौँ तोला सुन तथा विभिन्न स्थानमा अचल सम्पत्ति जोड्ने आधार के हो भन्दै प्रश्न गरे । देशको शिक्षा प्रणाली अनुसार स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गर्न झन्डै २५ वर्ष उमेर लाग्ने उल्लेख गर्दै उनले सम्बन्धित सांसदहरू विदेश नगएको, जागिरसमेत नगरेको र पुख्र्यौली सम्पत्तिको आधार पनि नदेखिएको अवस्थामा यति धेरै सम्पत्ति कसरी आर्जन भयो भन्ने प्रश्न उठाए ।
‘देशमा सुशासन ल्याउँछौँ’ भन्ने राजनीतिक दलका युवा सांसदहरूको सम्पत्तिको स्रोत पारदर्शी हुनुपर्ने उनको आशय थियो । सार्वजनिक पदमा रहेका व्यक्तिको आर्थिक अवस्था र सम्पत्ति आर्जनको स्रोतबारे जनताले प्रश्न गर्न पाउनुपर्ने भन्दै उनले सुशासनको कुरा गर्नेहरूले आफ्नो व्यवहार र आर्थिक पारदर्शितामा पनि उदाहरण प्रस्तुत गर्नुपर्ने धारणा राखे ।
राजनीति केवल चर्चा, प्रचार र जनमतको माहोल सिर्जना गर्ने माध्यम नभई नागरिकको जीवनमा वास्तविक परिवर्तन ल्याउने विचार र व्यवहारसँग जोडिनुपर्ने राईले बताए । नेपाली कम्युनिष्ट पार्टीसँग नागरिकलाई जीवित अवस्थामै सुख, समृद्धि र खुसीको अनुभूति गराउने अर्थात् ‘जिउँदो मानिसलाई स्वर्ग देखाउने’ विचार रहेको उनको दाबी थियो ।
देशको समृद्धि हल्ला, प्रचार र नाराबाट नभई इमानदार प्रयास, मेहनत, पारदर्शिता र सही योजनाबाट मात्रै सम्भव हुने राईको भनाइ थियो ।









