निर्वाचन आयोगले रिक्त रहेका स्थानहरूमा उपचुनावको तयारी सुरू गरेको छ। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा खाली रहेका ४७ वटा स्थानका लागि आउँदो मंसिरभित्रै उपचुनाव गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सेतोपाटीलाई बताए।
आयोगले चुनावको मितिका विषयमा छलफल गर्न बिहीबार सर्वदलीय बैठक डाकेको छ। बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा तीनवटै तहमा प्रतिनिधित्व गर्ने निर्वाचन आयोगमा दर्ता भएका १८ राजनीतिक दलका प्रतिनिधिलाई आमान्त्रण गरिएको छ।
दलका प्रतिनिधिहरूको कुरा सुनेपछि सरकारलाई उपचुनावको मिति प्रस्ताव गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा एक र प्रदेश सभाका तीन ठाउँ रिक्त छ। यस्तै स्थानीय तहका चार जना प्रमुख र एक उपप्रमुखका लागि उपचुनाव गर्नुपर्नेछ। अहिले देशभरीका ३८ वटा वडा अध्यक्षविहीन छन्।










