संखुवासभा, स्थानीय तहको उप निर्वाचनका लागि दलहरु उम्मेदवार छनौटमा छन् । यता संखुवासभाको खाँदबारी नगरपालिका ३ को अध्यक्ष पदका लागि नेकपा र कांग्रेस दुवैले आफ्ना उम्मेदवारको नाम सर्वसम्मत सफारिस गरेका छन्। वडा नं. ३ मा रिक्त वडाध्यक्ष पदका लागि नेकपा र कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको जनाएका छन् । रिक्त वडाध्यक्ष पदका लागि नेकपाबाट भरत घिमिरे र नेपाली कांग्रेसबाट विक्रम गुरुङको नाम सिफारिस गरिएको छ।

नेकपाले कात्तिक ५ गते नै उम्मेदवारको टुङ्गाएको थियो। भने कांग्रेसले १० गते आइतबार मात्र टुङ्गो लगाएको हो । नेकपाको ५ गते बसेको वडा समितिको बैठकले सर्वसम्मत भरत घिमिरेलाई पठाउने निर्णय गरेको नेकपा वडा समितिले जनाएको छ।

सुरुमा वडाअध्यक्षको उम्मेदवारका लागि नौ जनाको नाम आएकाले सहमति जुट्न सकस परेको नेकपा वडा नम्बर ३ का अध्यक्ष भानु पराजुलीले बताए। नेपाली कांग्रेसले पनि सहमति जुटाउन पटक–पटक छलफल गरिरहेको थियो। कांग्रेसबाट उम्मेदवारका लागि अघिल्ला निर्वाचनमा पराजित भएका बाबुराम खत्री, डिल्ली श्रेष्ठ, राजकुमार श्रेष्ठ,र बालकुमार घिमिरेले उम्मेदवारको दाबी गर्दै आएका थिए। पार्टीले आइतबार मात्रै उम्मेदवारको नाम सिफारिस गरेको कांग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठले जानकारी दिए।

नेकपाले भोट माग्न कार्यकर्ता भेटघाट र घर दैलो कार्यक्रम गरिरहेको छ। वडा नम्बर ३ नेकपाका प्रभावशाली नेता तथा जिल्ला अध्यक्ष हेमराज घिमिरेको पकड क्षेत्र हो। संखुवासभामा ठूलो दुई दल नेकपा र नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन्। वडा नम्बर–३ मा १८ सय २२ मतदाता छन्। खाँदबारी नगरपालिका–३ मा वडा अध्यक्षको निधन भएपछि पद रिक्त भएको हो । खाँदबारी–३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको २०७४ फागुन १३ गते हृदयाघातका कारण मृत्यु भएको थियो। वडा नम्बर–३ मा ज्येष्ठ सदस्य देवराज घिमिरेले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।

तपाईको प्रतिक्रिया