संखुवासभा, संखुवासभा विकट हिमाली जिल्ला भएकै कारण एकाध बाहेकका मानिसहरु छाक टार्नलाई समस्यामा छन् । जिल्लाका उत्तरी क्षेत्रमा बसोबास गर्दै आएकाहरुमध्ये कठोर जीवन बाँचिरहेकाहरु अझै पनि दशैं आउला र धानको भात खाउँला भन्ने आशमा छन् ।

गत साउन अन्तिममा मकालु साहित्य समाज संखुवासभाले धार्मिक तथा पर्यटकीय स्थल शिवधारासम्मको यात्रा शिवधाराबाट समृद्धीका स्वरहरु शृंखला २ को आयोजना ग¥यो । यो यात्रामा संघीय सांसद राजेन्द्र प्रसाद गौतम, मकालु गाउँपालिकाका कार्यबाहक अध्यक्ष चमेली राई, मकालु साहित्य समाजका पदाधिकारीहरु, मकालु युवा समाजका पदाधिकारीहरु र पत्रकार सहित ३२ जनाको टोली थियो ।

यात्राको तेस्रो दिन टासी गाउँबाट दोबाटेसम्म पुग्नु थियो । टासी गाउँबाट डोकोमा पसलका सामान बोकेका भाई हाम्रा सहयात्री भए । उनको डोकोमा २५ केजी सामान थियो । हामी एकसरो कपडाको झोला भिरेकाहरु उनी जस्तो ठमठम्ती हिड्न सकिएन । तर उनलाई मैंले थुप्रै कुरा सोध्नु थियो । त्यसैले संगै हिडाएँ । झिन्जिरी ओडार, चौतारी र डाँडा खर्कको उकालो उनलाई भन्दा मलाई गाह्रो पर्दै गयो । यो बिचमा उनले भन्दा धेरै मैंले विसाएँ ।

उनी सेदुवादेखि डोकोको भारी लिएर आएका रहेछन् । बिहानको ३ बजे सेदुवादेखि हिडेको सुनाए । जुनबाटो अघिल्लो दिन सेदुवादेखि खाना खाएर हिडेका थियौं । साढे ६ घण्टा हिडेको हाम्रो बाटो भारी बोकेरै ३ घण्टामा पार लाएछन् उनले । उनले बोकेको २५ केजी याङ्ले खर्क पु¥याउनु पर्ने थियो ।

उनले भारी बिसाएका र बोकेर हिँडेका अप्ठ्यारो उकालोहरुमा मैंले भिडियो खिचेँ । तस्बीर लिएँ । शेर्पा थर बताउने उनले नाम बताउन चाहेनन् । भारी बिसाएका चौतारीमा मेरा प्रश्न र उनले दिएका उत्तरहरु भिडियोमा अटाउँन खोजेँ तर उनी मानेन् । कक्षा ५ मा सेदुवामा पढ्ने उनी १२ वर्षका भए । उमेरको दोब्बर भारीको तौलले उनको पढाई खर्च जोहो हुँदो रहेछन् ।

नयाँ लुगा फेर्न र पढाई खर्च जुटाउन उनले विगत ३ वर्ष देखि यसरी भारी बोकेका रहेछन् । पहिले नुम बजार देखि सेदुवासम्म सामान ल्याउने गरेको बताए । अहिले नुमदेखि सेदुवासम्म प्राय खच्चडले भारी बोकिरहेको छ । यहाँसम्म १० रुपैया केजीका दरले खच्चडलाई बोकाइन्छ । खच्चडलाई सस्तो भाडा पर्छ, हामीले बोक्दा अलि महँगो पर्ने भएकाले नुमदेखि सेदुवासम्म सामान ल्याउन अहिले हामीलाई खोजीदैन ।

खोङ्मादेखि खच्चड हिड्ने बाटो छैन, यसरी नै हामीले बेस क्याम्पसम्म पु¥याउँछौ । याङ्लेसम्म यो भारी पु¥याउँदा ३ हजार रुपैंया पाउने उनले बताए । सेदुवादेखि याङ्ले पुग्न दुई दिन लाग्छ ।

डाँडा खर्कमा खाजा खान हामी बस्यौँ । उनको आजको बास खोङ्मा भएकोले उनी त्यहाँ निकैबेर थकाई मारे । हामी दोबाटे पुग्नु पर्ने भएकाले चाँडै बाटो लाग्यौँ । यहाँबाट उनको र मेरो प्रश्न उत्तर पनि सकीए । हामीसँग दुई जना सहयोगी छन् । उनीहरु पनि हाम्रा कपडा, सातु, चक्लेटका भारी बोकेर ठूलो डाँडा मुनी समृद्धीको उकालो चढीरहेका छन् । उनीहरुले पनि नाम बताएनन् । हाम्रो आठ दिनको यात्रामा उनीहरुले ९ हजार ६ सयका दरले रकम बुझे । उनीहरु भन्दै थिए, कुहिरेहरुले दिनको १५ सयका दरले दिन्छन् ।

यो यात्रामा सांसद राजेन्द्र गौतमले दुर्गमकालाई सरकारले ल्याएको सुखी नेपाली समृद्ध नेपाल नाराले कति अर्थ राख्दछ भन्ने अनुभव गर्न पाए होलान् । गाउँपालिका कार्यबाहकले आफुलाई जिताएका जनताको जीवनशैली बुझे होलान् । दुर्गमले राजधानीको सिंह दरबार देख्न नपाए पनि गाउँमा आएको सिंहदरबारमा बस्नेहरु देख्न पाए ।

तपाईको प्रतिक्रिया