पाँचथर, तल्लो हेंवा जलविद्युत आयोजनाको काम सकिएसँगै पाँचथरबाट २२.३४ मेगावाट बिजुली केन्द्रीय प्रसारण प्रणालीमा थपिएको छ ।
फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भएर बग्ने हेंवा खोलामा निर्माण गरिएको आयोजनाको काम सकिएसँगै गएको साउन ४ गतेबाट परीक्षण उत्पादन भइरहेको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।
फिदिम–४ मा रहेको थापाटारको काबेली करिडोर सब स्टेसनबाट उत्पादन भएको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको आयोजनाका निर्देशक दीपेन्द्र आङ्बोले बताए । यो जल विद्युत आयोजनाबाट जेठदेखि मंसिर बीचको ६ महिनामा २२।३४ मेगावाट र मंसिर–वैशाख बीचको सुख्खा महिनामा १० देखि १२ मेगावाट विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ ।
यो आयोजनाबाट प्रतिदिन उत्पादित पाँच लाख ७० हजार युनिट बिजुलीबाट २२ लाख रुपैँयासम्म आम्दानी हुने बताइएको छ । तीन अर्ब ६६ करोड रुपैयाँको लगानीमा सक्नेगरी निर्माण थालिएको आयोजनाको लागत ७० करोड नाघेको आयोजना प्रमुख गणेश सुब्बाले बताए ।
०७४ असारमा सक्नेगरी २०७० मंसिरबाट निर्माणको थालनी गरिएको आयोजनाको काम नाकाबन्दी, भूकम्प तथा आन्तरिक विवादका कारणा बीचमा रोकिँदै काम हुँदै गर्दा लागत बढ्नुका साथै ढिलोगरी मात्र काम सकिएको बताइएको छ ।









