संखुवासभा, जिल्लाका आधा दर्जन निर्माण कम्पनी सम्झौताअनुसार समयमा काम सम्पन्न नगरेको भन्दै कारबाहीमा परेको अवस्थामा एक निर्माण कम्पनीले भने निर्माण सम्पन्न गर्नुपर्ने समयभन्दा चार महिनाअघि नै काम सकाएको छ । समयमै निर्माण सम्पन्न नगरेर धरौटी जफत तथा जरिवाना भइरहेको अवस्थामा कुन्सालिङ/अरुण–वरुण जेभीले सम्झौता समयभन्दा चार महिनाअघि नै काम सम्पन्न गरेको हो ।
खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गर्न एक करोड ७९ लाख ५२ हजार चार सय ३५ रुपैयाँ बजेट विनियोजन भएको थियो । उक्त भवनको ठेक्का संघीय आयोजना कार्यालय विराटनगरले २५ असार ०७५ मा लगाएको थियो । ठेक्काअनुसार २४ पुस ०७६ मा निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, निर्माण कम्पनी अरुण–वरुण जेभीका निर्देशक मिगुर शेर्पाले सम्झौता अवधिभन्दा चार महिनाअघि नै भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेका छन् ।
धेरै आयोजना अलपत्र भइरहेको समयमा अरुण–वरुण जेभी र त्यसका निर्देशक मिगुर शेर्पाले उदाहरणीय काम गरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । आफूले ठेक्का पाएपछि सम्झौताअनुसारको समयभित्रै काम सम्पन्न गर्दै आएको शेर्पाले बताए । अरुण–वरुण जेभीले तेह्रथुमको कोष तथा लेखा नियन्त्रक कार्यालय भवन पनि सम्झौता समयभन्दा सात महिनाअघि नै निर्माण सम्पन्न गरेर बुझाएको थियो ।
शेर्पाले भने, ‘सम्झौता अवधिअगावै काम सक्यो भने त्यहीअनुसार बोनससमेत पाइन्छ । यसले पनि मलाई थप प्रेरणा मिलेको छ ।’ सम्झौता समयभन्दा अगाडि नै काम सम्पन्न गरेमा प्रतिदिन शून्य दशमलव शून्य पाँच प्रतिशतले बढीमा १० प्रतिशतसम्म बोनस दिने र सम्झौताभन्दा ढिलो काम गरेमा सोहीअनुसार जरिवाना लिने प्रावधान छ ।
जिल्ला निर्माण व्यवसायी संघका महासचिवसमेत रहेका शेर्पा आफ्नो काममा इमानदार हुनुपर्ने बताउँछन् । निर्माण व्यवसायी संघ संखुवासभामा ९३ वटा निर्माण कम्पनी आबद्ध छन् । त्यसमध्ये सबैभन्दा उत्कृष्ट काम गर्ने र १० प्रतिशत बोनस पाउने अरुण–वरुण जेभी रहेकाले प्रदेशमा सिफारिस गरेर पठाइएको निर्माण व्यवसायी संघ संखुवासभाका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताए । शेर्पाले आफूलाई फेरि एकपटक समयअगावै काम सम्पन्न गर्ने निर्माण व्यवसायीका रूपमा प्रमाणित गरेको उनको भनाइ छ ।
काम नगर्नेको धरौटी जफत
तुम्लिङटारस्थित डिभिजन सडक कार्यालयले सम्झौता समयभित्र काम नगर्ने सातवटा निर्माण कम्पनीलाई कारबाहीबापत जरिवाना र तीनवटा निर्माण कम्पनीको धरौटीबापतको रकम तीन करोड ४१ लाख रुपैयाँ जफत गरेको छ ।
कार्यालयका प्रमुख कुवेर नेपालीका अनुसार ओएसिस इन्जिनियर्स एन्ड बिल्डर्सलाई १७ लाख, कोसी एन्ड न्यौपाने निर्माण सेवालाई १६ लाख ८० हजार, हरिहरि निर्माण सेवालाई १४ लाख ५७ हजार, सगरमाथा लोहनी ब्रदर्स जेभीलाई दुई लाख ५० हजार, सर्वउद्धार सगरमाथा दोभान जेभीलाई ६ लाख ५० हजार, याक्थुहाङ निर्माण सेवालाई १४ लाख ५० हजार, विनायक निर्माणलाई १८ हजार र बज्र एन्ड सन्सलाई ११ हजार जरिवाना गरिएको छ ।
त्यसैगरी, स्वच्छन्द निर्माण सेवाको काम न्यून गुणस्तरको पाइएपछि दुई करोड २१ लाख, कान्छाराम एनबी जेभीको एक करोड नौ लाख र मना कन्स्ट्रक्सनको ११ लाख धरौटी जफत गरिएको छ ।









