पाँचखपन, पाँचखपन नगरपालिकाका जनप्रतिनिधिहरुले निजी खर्च गरेर सडक मर्मतको काम सम्पन्न गरेको छ । नगरपालिकाका मेयर विपिन राई र वडा नं. १ का अध्यक्ष टेक बहादुर बुढाथोकीको संयुक्त खर्चमा सडक मर्मत सम्पन्न भएको छ । सडक मर्मतमा दुई लाख रुपैंया खर्च भएको बुढाथोकीले बताए ।
मर्मत सम्पन्न गरी आजै भ्याकुलोडरका चालकलाई दुई लाख रुपैंया बुझाइएको बुडाथोकीले बताए । असोज १७ गते देखि भ्याकुलोडर प्रयोग गरेर सडक मर्मत सुरु गरेर शनिबार सम्पन्न गरिएको बुढाथोकीले बताए । आइतबारै चैनपुर–बाह्रबिसे सडक अन्तरगत चैनपुर र पाँचखपन नगरपालिकाको सिमानामा रहेको हेवाँ खोलामा बाटो बिग्रीएकाले इस्काभेटर ल्याएर मर्मत सुरु गरिएको छ ।
उक्त स्थानमा मर्मत गरिने र विभिन्न स्थानमा झरेको पहिरो हटाइने बुढाथोकीले बताए । हेवाँ खोलामा सडक मर्मत भएपछी चैनपुर बाह्रबिसे बस सञ्चालन गरिने मेयर विपिन राईले बताए ।
दशैं खर्च कटाएर स्थानीयलाई दशैं, तिहारमा आवतजावतका लागि सहज बनाउन सडक मर्मत गरेको राईले बताए । उनीहरुले नगरपालिकाका मुख्य सडकखण्डहरु बडहरेनी–वाना, वाना–बिहिबारे, बिहिबारे–चुङखुरुङ, चैनपुर–बाह्रबिसे सडकखण्ड अन्तर्गतको वाना–ओक्तेन सडक मर्मत गरेका छन् ।
वर्षायामका कारण सडक भत्किएका कारण सवारीसाधन आवागमनमा समस्या भएको थियो । खाँदबारी नगरपालिका अन्तर्गतको खाँदबारी बडहरेनी सडक मर्मत नगरेका कारणले पाँचखपन नगरबासीलाई आवतजावतमा समस्या हुँदै आएको राईले बताए ।









