काठमाडौँ — जनार्दन शर्मा फेरी अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ ।
शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिले तय गर्ने उनले बताए ।
शर्मालाई उन्मुक्ति दिन अनुसन्धानमा उल्टो विधि
बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
अर्थमन्त्री छँदा शर्माले केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेको आरोप लागेको थियो । करको दर हेरफेर गर्न उनले बजेट भाषणको अघिल्लो रात (जेठ १४ गते) राजस्व प्रशासनमा लामो समय काम गरेर अवकाश भएका नायब सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको उनीमाथि आरोप लागेको थियो ।
उक्त प्रकरणमा संसदीय छानबिन विशेष समितिले शुक्रबार बजेट निर्माणका बेला अनधिकृत मानिहरु सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो ।
यसअघि पनि पदीय मर्यादा बिर्सेर विभिन्न विवादास्पद काम गरेपछि उनी आलोचित बन्दै आएका छन् ।









