शिवधारा, साहित्यकार ताराबहादुर बुढाथोकीद्धारा लिखित ‘काँडे भ्याकुरको शुभविवाह’ लोककथा संग्रहको चर्चा कार्यक्रम शिवधारामा सम्पन्न भएको छ । लोककथामा संखुवासभा क्षेत्रका १५ वटा लोककथाहरु समावेश गरिएको छ । चार हजार तीन सय १० मिटरको उचाई रहेको शिवधारामा लोक कथाको चर्चा गरिएको लेखक बुढाथोकीले जानकारी दिए ।
लोककथामा काँडे भ्याकुरको शुभविवाह शिवधाराबाटै भएकाले पुस्तकको चर्चा पनि शिवधाराबाटै गरिएको बुढाथोकीले बताए । कार्यक्रममा सांसद राजेन्द्र गौतम, मकालु गाउँपालिका कार्यबाहक अध्यक्ष चमेली राई मकालु युवा समाजका पदाधिकारीहरु, मकालु साहित्य समाजका पदाधिकारीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
दुई पुस्तक विमोचन
सोही क्रममा साहित्यकार कृष्ण जिमी(भरत)द्धारा लिखित दुई पुस्तक समेत विमोचन गरिएको छ । ‘चुटेको चङ्गा’ सेन्यु सङ्ग्रह र ‘क्रान्तिको फुल’ हाईकु संङ्ग्रह विमोचन गरिएको हो । प्रतिनिधी सभा सदस्य राजेन्द्र गौतमले पुस्तक विमोचन गरेका हुन् ।
सेन्यु सङ्ग्रहमा पाँच सय ६० सेन्यु समावेश गरिएको लेखक जिमीले बताए । चुटेको चङ्गामा जीवन सौन्दर्यताको खोजी गरीएको छ । त्यसैगरी क्रान्तिको फुल हाइकु सङ्ग्रहमा पाँच सय ३० हाइकुहरु रहेका छन् । १० वर्षे जनयुद्धका सहभागी जिमीले जनयुद्ध केन्द्रीत रहेर रचना गरेको हाइकु र सेन्यु पुस्तकमा पाइन्छ ।
पर्यटन वर्ष २०२० लाई लक्षित गरि मकालु साहित्य समाजले आयोजना गरेको ‘समृद्धिका स्वरहरुः शृखला–२’ सम्पन्न गर्नका लागि ३२ जनाको टोली शिवधारा पुगेको थियो । सोही क्रममा पुस्तक चर्चा तथा विमोचन गरिएको समाजका अध्यक्ष बुढाथोकीले बताए । ‘शिवधारा तर्फ पाइला सारौं पर्यटन वर्ष २०२० लाई सफल पारौं’ भन्ने नाराका साथ जिल्लामा रहेको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारका लागि मकालु साहित्य समाज संखुवासभाले साहित्यिक यात्रा गरेको हो ।










