भोजपुर, भोजपुरको षडानन्द नगर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र मुलपानीमा पोष्टमार्टम सेवा नहुँदा स्थानीयले सास्ती भोग्न बाध्य भएका छन् । पालिकाको केन्द्र दिङ्लामा प्राथमिक स्वास्थ्य केन्द्र र षडानन्द नगर अस्पतालमा गरी दुई जना एमबिबिएस डाक्टरहरु छन् तर पोष्टमार्टम सेवा उपलब्ध छैन ।

यहाँ पोष्टमार्टम सेवा नहुँदा जिल्ला अस्पताल संखुवासभा खाँदबारी तथा भोजपुर लैजानु पर्ने बाध्यता रहेको छ । २०८२ चैत्र १३ गते षडानन्द नगरपालिका वडा नं. ३ सैमा निवासी वीरमान तामाङ लडेर घाईते भए १८ गते उनको मृत्यू भयो १९ गते पोष्टमार्टम गर्न खाँदबारी लगेका थिए ।

मिति २०८३ बैशाख १४ गते षडानन्द नगरपालिका वडा नं. ९ मा रुख काट्ने क्रममा रुखले लागेर भविन्द्र राईको घटना स्थलमा नै मृत्यू भयो राईको पोष्टमार्टम पनि यहाँ भएन उनको लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी नै लगियो । पोष्टमार्टम गर्नको लागि पोष्टमार्टम गर्ने तालिम लिएको हुनुपर्ने तर यहाँ प्राथमिक स्वास्थ्य केन्द्र र षडानन्द नगर अस्पतालको डाक्टर दुबैजनाले पोष्टमार्टमको तालिम नलिएको कारण सेवा अवरुद्ध भएको छ ।

पालिकाको केन्द्रमा स्थानीयहरुलाई सेवा दिन भनेर नगर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी रहेका छन् तर त्यस कार्यालयबाट स्थानीयले पाउने सेवा खै? भन्दै स्थानीयहरुले प्रश्न गर्न थालेका छन् । यस्तो सेवा सहजै नहुँदा पिडा माथी अझ पिडा थपिने आर्थिक भार समेत थपिने हुँदा सम्बन्धित सरोकारवाल निकायले ध्यान दिए सहज हुने स्थानीयहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया