भोजपुर– षडानन्द सामुदायिक पुस्तकालयको छैठौं बार्षिक साधारण सभा आईतबार सम्पन्न भएको हो । दिङ्ला बहुद्ध्येश्यीय भवनको सभाहलमा भएको बार्षिक साधारण सभा विविध विषयमा छलफल, प्रतिवेदन साथै आगमी योजनाको छनौट गर्दै सम्पन्न भएको हो ।
पुस्तकालयको प्रचार प्रसार नभएको साथै बजार भन्दा केहि टाढा रहेकोले बजार केन्द्रित बनाउनु पर्ने छलफलमा सहभागीहरुले बताएका छन् । षडानन्द नगरपालिका वडा नं. ७ मा २०७५ सालमा स्थापना भएको पुस्तकालयमा हाल करिब ६ सय भन्दा माथि पुस्तकहरु रहेको पुस्तकालयका कोषाध्यक्ष नगेन्द्र बस्नेतले बताएका छन् ।
हामीले ५ औं बर्षसम्म विभिन्न समस्या, वाधा अवरोधलाई छिचोल्दै यहाँसम्म ल्याउन सकियो सबैको सहयोग भए यस पुस्तकालयलाई व्यवस्थित बनाउन सक्ने थियौं । यसको लागि भौतिक पुर्वधार साथै विभिन्न प्राविधिक पक्षका सामग्रीहरुको अभाव रहेको कोषाध्यक्ष नगेन्द्र बस्नेतले बताएका हुन् ।
क्याम्पस संगैं जोडिएर रहेको कारण मानिसले छ्ट्टै पुस्तकालय हो भन्ने अझसम्म थाहा पाएका छैनन यसलाई बजार केन्द्रित गर्नसके पुस्तकालयको उज्वल भविष्य हुने वक्ताहरुको भनाई रहेको थियो ।
कार्यक्रममा यस पुस्तकालयलाई व्यवस्थित गर्नको लागि नगरपालिका अगाडीदेखि नै लागि रहेको छ । यसले फुर्सदिलो समयमा गफ लगाउनको सट्टा पढ्ने बानीको विकास गराउने भएको कारण बजार केन्द्रित बनाउनको लागि नगरपालिकामा छलफल भईरहेको नगरपालिका उपप्रमुख प्रमिला राईले बताएका छन् ।









