संखुवासभा, संखुवासभाको खाँदबारी नगरपालिका–३ मा बोटबाटै १५ लाख मूल्य बढीको रुद्राक्ष चोरी भएको छ। गएराति खाँदबारी–३ सार्के गाउँमा १५ लाख बढीको रुद्राक्षको दाना चोरी भएको हो । अज्ञात समूहले रातको समयमा रुद्राक्ष चोरी गरेको पीडित देवराज पुरीले बताए । बोटको हाँगा काटेर सबै दाना टिपेर लगेको पुरीले बताए ।
कृषक झलक बुढाथोकीले दुई वर्षका लागि देवराज पुरी र रमेश भण्डारीलाई रुक्र रुद्राक्ष १५ लाखमा ठेक्का दिएको थियो । पुरीले भने ुहामी दशैंअघि नै टिप्ने तयारी हुँदा/नहुँदै चोरी भएछ। भोजपुर र संखुवासभामा पछिल्लो समय चोरीको घटना तीब्र बढेको छ।
यो वर्ष मात्रै संखुवासभाको पाँचखपन नगरपालिका, चिचिला गाउँपालिका, खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिको कुदकाउले र देउरालीबाट चार करोड बढीको रुद्राक्षको चोरी भइसकेको छ। पछिल्लो समय रुद्राक्षको व्यापारमा वृद्धि भएसँगै चोरी र लुटपाटको घटनामा वृद्धि हुन थालेको हो ।









