ट्रकले किच्दा बालकको ज्यान गयो
धर्मदेवी नगरपालिकाको मुढे बजारनजिकै सोमबार बिहान मालवाहक ट्रकले किच्दा एक जना बालकको घटना स्थलमा नै ज्यान गएको छ । ज्यान गुमाउनेमा ४ वर्षीय आदित्य अधिकारी रहेको मुडे प्रहरी चौकीले जनाएको छ । सोमबार बिहान नागपञ्चमीको दिन शिवालयमा पूजा गरेर फर्किने क्रममा ट्रकले किच्दा धर्मदेवी नगरपालिका–३ मुढेबजारका अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।
इटहरीबाट खाँदबारीतर्फ आउँदै गरेको ना ४ ख २९०० नम्बरको ट्रकले किच्दा अधिकारीको ज्यान गएको हो । मुढे बजारको बसपार्क आइपुग्ने बेलामा ओरालो सडकमा अताल्लिएर ब्रेक नलागेको कारण दुर्घटना भएको ट्रक चालक प्रेम मगरले बताए । ट्रक चालक मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खोलामा डुबेर शाखा अधिकृतको ज्यान गयो
सभाखोलामा डुबेर एक जनाको ज्यान गएको छ । खाँदवारी नगरपालीका वडा नम्वर १ घिमिरे टोल बस्ने रिषिकेश निरौलाको खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । ४५ वर्षिय निरौला पौडी देल्ने क्रममा डुबेर ज्यान गएको हो । निरौला शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय योजना तथा अनुगमन शाखाका शाखा अधिकृत हुन् ।
पौडी खेल्ने क्रममा डुबेका निरौलालाई साथीहरुले खोलाबाट बाहिर निकाली उपचारको लागी तुम्लिङटार स्थित मनकामना अस्पतालमा पर्याएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल खाँदबारी ल्याईएको छ ।
भीरबाट लडेर एकको मृत्यु
मकालु गाउँपालिका–३ मा भीरबाट लडेर एकको मृत्यु भएको छ । सोही वडाको एक्वा गाउँका ६२ वर्षीय घले शेर्पाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूजाको सामाग्री किन्न गएका शेर्पा घर फर्कने क्रममा आइतबार राति करिब ९ बजे महाभीरबाट लडेको प्रहरीले बताएको छ। उनी करिब ५० मिटर तल खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आइबार नै घरबाट निस्किएका शेर्पा घर नआएपछि आफन्तले खोजी गर्दा महाभीर तल मृत अवस्थामा सोमबार बिहान फेला पारेका हुन् ।
करेन्ट लागेर एक घाइते
संखुवासभामा करेन्ट लागेर एक जना घाइते भएका छन् । जिल्लाको चैनपुर नगरपालिका वडा नम्वर ६ क्याम्पस चोकका नारायण प्रसाद नेपाल करेनट लागेर घाइते भएका छन् ।
खाँदवारी नगरपालिका ३ स्थित सुमन चोकमा बिजुलीको पोलमा चडी नेटको तार जोड्ने क्रममा नेपाललाई अचानक करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । करेनट लागेका नेपाललाई जिल्ला अस्पताल खाँदबारीमा उपचार पश्चात घर पठाइएको प्रहरीले जनाएको छ । नेपाल हाम्रो केवल नेटका कर्मचारी हुन् ।









