संखुवासभा, जिल्लामा पछिल्लो तीन–चार वर्षको अवधिमा सेतो पुतलीको प्रकोप बढ्दै गएको छ । यसका कारण अहिलेसम्म एकजनाले आँखाको ज्योति नै गुमाइसकेका छन् । खाँदबारीकी स्मृति घिमिरे, चैनपुरका युविका शाक्य, सिलिचोङ बालाका स्मृति कुलङ र भूमिका कुलुङलगायत सातजनालाई सापु लागेको भेटिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीका इन्चार्ज क्षितिज बरालले बताए । तीमध्ये स्मृतिले आँखाको ज्योति नै गुमाएकी छिन् । अन्यको भने उपचारपछि आँखा ठीक भएको छ ।

सेतो पुतलीको झुस आँखामा परेपछि लाग्ने रोगलाई सापु (सिजनल हाइपरएक्युट पनुभिआइटिस) भनिन्छ । सापु भएपछि ४८ घन्टाभित्र अस्पताल नपुगे दृष्टि नै गुम्ने खतरा रहेको चिकित्सक बताउँछन् । सदरमुकाम खाँदबारीमा बस्दै आएका माल्टाका खगेश्वर घिमिरेको छोरी स्मृति घिमिरेको सापुका कारण नै आँखाको ज्योति गुमेको हो । सूर्य बोर्डिङ स्कुलका भाइस–प्रिन्सिपलसमेत रहेका खगेश्वरले समयमै उपचार नगराएका कारण छोरी स्मृतिको आँखाको ज्योति गुमेको हो ।

छोरीको आँखाको ज्योति गुमेपछि पछुतो मान्दै उनले भने, ‘छोरी विद्यालयबाट घर फर्किएपछि आँखाको डिल चिलायो भनिन् । हामीले खासै वास्ता गरेनौँ । निकै चिलायो भनेपछि हतार–हतार तेजरत्न आँखा उपचार केन्द्रमा लग्यौँ । तिलगंगा अस्पताल काठमाडौं पु(याउँदा ढिला भइसकेछ ।’ स्मृतिको दाहिने आँखाको ज्योति गुमेको हो ।

सिलिचोङ बालाका स्मृति कुलङको परिवार पनि खाँदबारीनजिकै बस्छ । छोरीले बिहान तौलियाले मुख पुछ्दा आँखा चिलायो भनिन् । निकै चिलाएपछि तुरुन्तै अस्पताल पु(याए । डाक्टरले सापु भनेपछि तुरुन्तै काठमाडौंस्थित गंगालाल अस्पताल पु(याए । समयमै सुविधासम्पन्न अस्पताल पु¥याउन सकिएका कारण उनको भने आँखा निको भयो । अहिले पहिलेजस्तै देख्न सक्ने भएको स्मृतिकी आमाले बताइन् ।

साढे चार दशकदेखि सापु रोग
सेतो पुतलीको झुसका कारण लाग्ने यो रोग पहिलोपटक पोखरामा देखिएको चिकित्सक बताउँछन् । २०३२ सालमा १६ वर्षमुनिका बालबालिकामा यो रोग डा। मदनकुमार उपाध्यायले पत्ता लगाएका थिए । उपाध्यायले लामो अनुसन्धानपछि यो रोगलाई ‘सापु’ नाम दिएका थिए । पोखराबाटै यो रोग विस्तार भएर पूर्व संखुवासभासम्म आइपुगेको तेजरत्न आँखा तथा कान रोग उपचार केन्द्रका इन्चार्ज क्षितिज बरालको भनाइ छ ।

उनका अनुसार यो रोग लाग्दा आँखा अचानक रातो हुँदै जान्छ र नानीमा सेतो दाग देखिन थाल्छ । त्यसपछि उज्यालोमा हेर्न गाह्रो हुन्छ र कम समयमै आँखाको ज्योति कमजोर हुन्छ । ४८ घन्टाभन्दा ढिलो गरी अस्पताल पुगे उपचार सम्भव नहुने चिकित्सक बताउँछन् । सेतो पुतलीको सीधा संसर्गबाट मात्रै नभई पर्दा, सिरक, तौलिया आदिमा पुतलीको झुस खसेको छ र आँखामा प(यो भने पनि यो रोग लाग्छ ।

कसरी चिन्ने सापु फैलाउने पुतली ?
चिकित्सकका अनुसार सेतो पुतली करिब तीन सय प्रजातिका छन् । त्यसमध्ये एक प्रजातिको सेतो पुतलीमा शिरतिर तेर्सो र पखेटातिर ठाडो कालो धर्को हुन्छ । यो उज्यालो वस्तु बत्ती, पर्दा, कपडा, झ्यालमा बढी आकर्षित हुने गर्छ । धेरैजसो पोथी सेतो पुतलीले अण्डा ढाक्न प्रयोग गर्ने झुसका कारण यो रोग फैलिने गरेको चिकित्सकको भनाइ छ । सो पुतलीले अण्डा कोरल्ने समयमा झुस छाड्छ र त्यो झुस आँखामा प(यो भने यो रोग लाग्ने खतरा हुन्छ ।

तपाईको प्रतिक्रिया