संखुवासभा, संखुवासभामा आर्थिक वर्ष २०७५/०७६ मा १ हजार २ सय ७ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जिल्लाका सूचीकृत स्वास्थ्य संस्थाबाट उनीहरुले सुरक्षित गर्भपतन गराएको समाज विकास केन्द्र सोडेकका कार्यक्रम अधिकृत कमानसिं राईले पाँचौ सुरक्षित गर्भपतन दिवसको अवसरमा बताएका हुन् ।

गर्भपतन गराउनेहरुमा सबैभन्दा बढी खाँदबारी नगरपालिकाबाट ३ सय ४५, पाँचखपन नगरपालिकाबाट १ सय ८६, चैनपुर नगरपालिकाबाट १ सय ७२, धर्मदेवी नगरपालिकाबाट १ सय ९ जनाले सुरक्षित गर्भपतन गराएका छन् । यस्तै मकालु र सभापोखरी गाउँपालिकाबाट ८५/८५ जना, भोटखोला गाउँपालिका ५१, चिचिला गाउँपालिका ४२, शिलिचोङ गाउँपालिका ३१ र मादी नगरपालिकाबाट १६ जनाले सुरक्षित गर्भपतन गराएको अधिकृत राईले नागरिक चासोलाई बताए ।

यस्तै भोजपुरबाट ८३ जना, तेह्रथुम र सप्तरी जिल्लाबाट १/१ जनाले संखुवासभामा गर्भपतन गराएको राईले बताए । जस्मा गर्भपतन गराउनेहरुमा २६ देखि ३० वर्ष उमेर समूहको सबैभन्दा बढी ३ सय ४४ अर्थात २८ प्रतिशत रहेका छन् । दुई सन्तान भइसकेकाहरुमा अनिच्छित गर्भ बसेपछी गर्भपतन गराउने भएकाले यस्को संख्यामा बृद्धी भएको राईले बताए । उनले भने यसरी गर्भपतन गराउनेहरुमा ४ सय ५५ अर्थात ३८ प्रतिशत रहेका छन् ।

अबको गन्तव्य असुरक्षित गर्भपतनको अन्त्य नाराका साथ मनाइएको दिवसमा सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको थियो । स्वास्थ्य प्रमुख रमेश बाह्रकोटीको अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षित गर्भपतन सम्बन्धी भवानी तिम्सीनाले जानकारी गराएका थिए । भने कार्यक्रममा मकालु हेल्थ एकेडेमीका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया