संखुवासभा, अरुण नदीमा वेपत्ता भएकाको खोजी कार्य दोस्रो दिन पनि असफल भएको छ । विपद उद्धार गण काठमान्डौबाट आएको ४ जना गोताखोरको टोलीले बिहिबारदेखि खोजी कार्य सुरु गरेको थियो । बिहिबार अवेरसम्म खोजी गरिए पनि पत्ता नलागे पछी शुक्रबार बिहानै देखि खोजी कार्य तीब्र बनाएको थियो । तर उनीहरुको खोजी कार्य दिनभर प्रयास मात्रै रह्यो ।

चिसो पानी र घटना स्थलमा पानीको बहाब धेरै र गहिरो भएकाले खोजी कार्यमा कठिनाई भएको खोजीमा संलग्नहरु बताउँछन् । दुई दिनको खोजी कार्य पनि असफल भएपछी आवश्यक उपकरण प्रयोग गरि शनिबार पुन खोजी गरिने प्रहरीले जनाएको छ ।

तर चार दिनदेखि जीपसंगै वेपत्ता भएका ६ जना खोज्न गोताखोर ल्याइए पनि खोजी कार्य भने सुस्त देखिएको छ । यान्त्रीक उपकरण अभावमा खोजी कार्य प्रभावकारी हुन नसकेको घटना स्थल पुगेकाहरु बताउँछन् । यदी यान्त्रीक विधि वा अर्को विकल्प नखोजीए पत्ता लाउन नसकिने शुक्रबार घटना स्थल पुगेका बीर बहादुर लिम्बुले बताए । पानीको गहिराईसम्म पुग्न नसक्दा खोजी कार्य असफल भएको उनको भनाई छ । मोबाइल ट्रयाकर मार्फत लोकेशन पत्ता लगाउन सकिने विकल्प रोज्नु पर्ने लिम्बुले बताए । यो विधि विकल्प नभए म्याग्नेट प्रयोग गर्नु पर्ने लिम्बुले सुझाव दिए ।

जिप दुर्घटनामा बेपत्ता हुनेहरुमा खाँदवारी ९ ढुङगे विसौनाका एकै परिवारका ३ जना २४ वर्षिय संगम श्रेष्ठ, उनकी श्रीमती २२ वर्षिय सदीक्षा, छोरा २ महिनाका समिर र खाँदवारी ९ ग्रैरिगाउँका प्रमिस थापामगर, उनका भेनाजु खोटाङ घर भएका खवरमान मगर र जीपका चालक खाँदवारी ९ कै वर्ष २६ का सन्तोस विश्वकर्मा रहेका छन् ।

प्रमेस र समिरको खाँदवारी अस्पतालमा उपचार हुन नसकेपछि धरान जाने क्रममा मंगलबार राती अक्करको भीरबाट जीप अरुण नदीमा खसेको थियो ।

तपाईको प्रतिक्रिया