संखुवासभा, करिब चार दशक कम्युनिस्ट राजनीति गरेका हरी वैरागी दाहालको हृदयाघातका कारण शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भयो । वि.सं. २०१४ कात्तिक २८ मा संखुवासभाको मादी नगरपालिका वडा नं ५ कोपिले गाउँमा यज्ञदत्त दाहाल र फाल्गुण कुमारीको कोखबाट जन्मिएका उनी माईला पुत्र हुन् ।
पञ्चायत कालमा स्कुले जीवन देखि नै राजनितिमा चाख दिने वैरागी गोपालराज पहाडीका दाहिने हात जस्तै थिए । पछी कांग्रेसको नेतृत्व हुनेखानेले मात्र लिन्छन् भन्ने लागेर बैरागी कम्युनिष्ट पार्टीमा लागेका हुन् । हाल मादी नगरपालिकाको मादी माविमा एस.एल.सी. पढेका बैरागी त्यसपछि भने खुलेरै राजनितिमा होमिए ।
३०३५ सालमा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजमा अनेरास्ववियुमार्फत् उनले विद्यार्थी राजनीतिको नेतृत्व लिए । नेपाली कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनमा सक्रिय उनी अनेरास्ववियु सप्तरीको जिल्ला अध्यक्षसमेत भएका थिए । राजनीतिक परिर्वतनसँगै आर्थिक परिर्वतन हुनुपर्छ भन्ने विचार राख्ने उनी २०४६ सालको परिवर्तनपछि पार्टी राजनीतिका साथै हाइड्रो अभियानमा लागेका थिए ।
२०५१ सालमा तत्कालीन नेकपा एमालेका तर्फबाट संखुवासभा क्षेत्र नं. २ बाट निर्वाचित वैरागीलाई कम्युनिस्ट आन्दोलनका प्रखर नेताका रूपमा स्मरण गरिन्छ । उनले जलविद्युत क्षेत्रमा निजी क्षेत्रलाई डोर्याए । जिल्लाबाट सांसद निर्वाचित हुँदा पनि उनले हाइड्रो अभियानलाई निरन्तरता दिइरहे।
वैरागीको अगुवाइमा दुई दर्जनभन्दा बढी हाइड्रोपावर कम्पनी स्थापना भएका छन् । निजी क्षेत्रको लगानीमा हाइड्रो परियोजना बनाएर उनले सर्वसाधारणको घरमा उज्यालो पुर्याए ।
वैरागीकै नेतृत्वमा २०५८ सालमा संखुवासभाको पिलुवाखोलाबाट ३ मेघावाट क्षमताको साना जलविद्युत आयोजना निर्माण सुरुभयो । यसलाई निजी क्षेत्रबाट हाइड्रोपावर सुरुआतीमध्ये एक मानिन्छ । त्यसपछि गाउँ–गाउँमा खेर गएको खोलाको पानीबाट बिजुली उत्पादन गर्ने लहर चल्यो । आर्थिक संकटमा परेका संखुवासभाका ३ वटा क्याम्पसका लागि दिगो आर्थिक स्रोतको खोजि गर्ने क्रममा हेवा खोला निगुरे जलविद्युत आयोजना सुरु गरी क्याम्पसलाई वैरागीले जिम्मा लगाए ।
पछिल्लो समय चर्चामा रहेको सभा ताल निर्माण उनको अन्तिम सपना मात्र रह्यो । ताल निर्माणका योजनाकार वैरागी खाँदबारी र पाँचखपन नगरपालिकासँग समन्वय गरी पटकपटक जिल्लामा भेलाको आयोजना समेत गरे । यसको वातावरणी सम्भाव्यता अध्ययन र प्रतावित सभा तालको प्रक्रियागत विषयवस्तुमा संखुवासभा धाइरहने वैरागी आफु पानीमा खेल्न रुचाउने अन्तिम पटक खाँदबारी आएका बेला बताएका थिए ।
पानी र हाइड्रोमा लामो समय अनुसन्धान र उत्पादन क्षेत्रमा लागेका उनी अन्तत सभा खोला जस्तै अबिराम बगेका छन् । अब सभा ताल निर्माणका लागि छलफल र अन्तिरक्रियामा संखुवासभाबासीसँग फेरी उनको भेट हुने छैन । तर सभा ताल निर्माणका लागि उनले खेलेको भुमिकाको सम्मान सभाताल निर्माण हुँदा हुनेछ ।









