भोजपुर- भोजपुरको षडानन्द नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र मुलपानीमा पोष्टमार्टम सेवा सुरु भएको छ । जनगुनासो डट कमले २०८३ वैशाख १६ गते षडानन्द नगर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम नहुँदा स्थानीयलाई कष्ट शीर्षकमा समाचार प्रकाशन गरी समस्या उजागर गरेको थियो । समाचार प्रकाशनपछि सम्बन्धित निकायको ध्यानाकर्षण भई आवश्यक पहल गरिएसँगै अहिले स्वास्थ्य केन्द्रबाट पोष्टमार्टम सेवा उपलब्ध हुने भएको छ ।
यसअघि षडानन्द नगर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र मुलपानीमा कार्यरत चिकित्सकहरूले पोष्टमार्टमसम्बन्धी आवश्यक तालिम नलिएका कारण सेवा उपलब्ध हुन सकेको थिएन । जसका कारण अस्वाभाविक मृत्यु तथा दुर्घटनाका घटनामा शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर वा जिल्ला अस्पताल खाँदबारी लैजानुपर्ने बाध्यता थियो ।
सेवा अभावकै कारण मृतकका परिवारले आर्थिक भारसँगै मानसिक पीडा पनि भोग्दै आएका थिए । अब भने स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।









