संखुवासभा, सुरुवातमा कोठा भाडामा लिएर श्रीमान् र उनी दुई ओटा मेसिन राखेर काम गर्दै आएकी थिइन् । कोठा भाडा र खान लाउन मै ठिक्क हुने यो पेशाले जानुका महरा व्यवसाय थप्ने सोँचमा थिइन् । तर आम्दानी नै नहुँदा व्यवसाय थप्नका लागि लगानी गर्ने रिण पाउन समेत उनलाई सकस थियो । छिमेकमा पाइने चर्को ब्याजको रिण समेत हुने खानेले मात्रै पाउँथे । दैनिक कपडा सिएर महिनामा रुपैंया आम्दानी नहुने जानुकाको जीवन स्तर अहिले फेरिएको छ ।

सभापोखरी गाउँपालिका १ धुपू, डके बजारमा उनको सिलाई कटाई तथा कपडा पसल छ । यहाँ उनले दुई जनालाई रोजगारी दिएकी छिन् । चेतनशिल महिला बचत तथा रिण सहकारी मार्फत डेढ लाख रुपैंया रिण लिएकी जानुकाले तीन ओटा मेसिन थपेकी छिन् । उनीहरुलाई पारिश्रमिक दिएर मासिक ३५ हजार रुपैंया आम्दानी हुने गरेको जानुका बताउँछिन् । घर खर्च र पारिश्रमिक कटाएर ३५ हजार आम्दानी हुँदा सहकारी मार्फत उनको जीवन स्तर उकासिएको छ । सहकारीमा आबद्ध भएर रिण लिएका उनले अहिले सहकारीमा नै बचत गरिरहेकी छिन् ।

धुपूकै बेनु माया तामाङले सहकारी मार्फत ३० हजार रुपैंया रिण लिएर होटल व्यवसाय सुरु गरिन् । यसरी सुरु गरेको व्यवसायबाट राम्रो आम्दानी भएपछी उनले व्यवसाय थप गर्न फेरी रिण लिएका छन् । जानुका र बेनु जस्तै सहकारीबाट रिण लिएका अन्य महिलाहरुले समेत वयवसाय गरेर राम्ररी आम्दानी लिइरहेका छन् ।

आफ्ना कार्यक्षेत्र भित्रका शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध गरेको यो सहकारीमा सभापोखरी १ का एक हजार एक सय ३७ जना सेयर सदस्य रहेका छन् । सहकारीले हालसम्म एक करोड ८३ लाख ८७ हजार ७ सय ४६ रुपैंया बचत गरेको छ । उक्त सहकारीमा बाल बचत, नियमित, ऐच्छिक, दैनिक, खुत्रुके र जिवन सुरक्षा लगायतका बचत गर्ने व्यवस्था गरेको छ ।

यता चैनपुर बजारमा रहेको गाउँ विकास बचत तथा रिण सहकारी संस्थाबाट रिण लिएर पुस्तक तथा स्टेशनरी व्यवसाय गरेका राम कुमार न्यौपानेले व्यवसायका लागि सहुलियत ब्याजदरमा रिण पाइने बताए । उनका अनुसार रिण लिएर पनि किस्तामा रिण फिर्ता गर्नुपर्ने भएकोले सहज हुने गरेको छ ।

यो सहकारी जिल्ला कै नमुना सहकारी हो भने प्रदेश नं. १ कै उत्कृष्ठ सहकारी पुरस्कृत भइसकेको छ । २०६८ सालमा ४२ जना सेयर सदस्यहरु मिलेर एक सय रुपैंया सेयर सदस्य शुल्क बचत गरेर सुरु गरिएको यो सहकारीले अहिले नौं करोड ४३ लाख ८ हजार ७२ रुपैंया बचत गरिसकेको छ । उक्त सहकारी संस्थाले गत आर्थिक वर्षमा मात्रै ६२ लाख ५८ हजार ५ सय रुपैंया बचत गरेको थियो । २ हजार २ जना सेयर सदस्य रहेको उक्त सहकारी संस्था मार्फत अहिले रेमिट्यान्स, बिजुली, पानी, टेलिफोन, इन्टरनेटको बिल, हवाइ टिकट, डिसहोमको रिचार्ज, कर्जा, बचत, रिण लगायतका सेवा दिदै आएको छ । भने वार्षिक रुपमा सामाजिक कार्य समेत गरिरहेको छ ।

उक्त सहकारी स्थापनाका बेला मर्सिकोर नेपालद्धारा सञ्चालित वित्तीय सेवा तथा जीविको पार्जनमा दिगो पहुँच(सफल–२) परियोजनाले फर्निचर, हिसाब खाता, ल्यापटप लगायतका सामाग्री उपलब्ध गराएको थियो । यससंगै सहकारी सम्बन्धी सचेतना, बचत गर्नुको फाइदा, रिण परिचालन, तालिम गोष्ठि सञ्चालनमा समेत परियोजनाले सहयोग गर्दै आएको थियो । परियोजना मार्फत नै सफ्टवयर उपलब्ध भएकोले हिसाब राख्न सजिलो भएको छ भने बचत कर्ताले चाहेको समयमा आफ्नो बचत तथा रिण हेर्न सहज भएको सहकारी संस्थाका व्यवस्थापक ओमनाथ गिरीले बताए ।

अनौपचारिक रुपमा कारोबार गर्दै आएका विभिन्न समूहहरुलाई सहकारीमा आबद्ध गराई नेतृत्व विकास तथा सदस्यहरुलाई उद्यमशिलता विकासमा समेत परियोजनाले सहयोग पुगेको मर्सिकोर नेपालका वरिष्ठ परियोजना अधिकृत थरेन्द्र नेपालले बताए । संखुवासभामा (सफल २) परियोजनाले सहकारीमा आवद्ध कृषक तथा व्यवसायीलाई समेत जिवीको पार्जनमा थप टेवा पुग्दै आएको छ । परियोजनाले जिल्लामा हाल २७ ओटा सहकारी संस्थामा सहकारी संस्था क्षमता अभिवृद्धी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया