काठमाडौँ, दिनदहाडै काठमाडौँमा एक सांसदको निवासबाट लाखौं रुपैयाँ बराबरको नगद तथा गरगहना चोरी भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको काठमाडौंस्थित निवासबाट नगद र गरगहना चोरी भएको हो ।

सांसद गौतम काठमाडौ महानगरपालिका वडानम्बर १० देवीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । उनी संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । सूचनाविभाग नजिकै सांसद गौतम बस्ने घरमा बिहीबार दिउँसो ३ बजेदेखि ४ बजेको समयमा चोरी भएको प्रहरीले जनाएको छ । घरको ढोका फोरेर कोठाभित्र रहेको नगद तथा गरगहना चोरी भएको सांसद गौतमले बताए ।

उनका अनुसार २ तोला ५ आना बराबरका सुनका गहना (६ आनाको औठी, ५ आनाको टप, ५ आनाको तिलहरी र १ तोलाको मंगलसुत्र) चोरी भएको छ । त्यस्तै चाँदीको २१ तोलाको थाली, २.५ तोलाको दियो तथा नगद एकलाख १५ हजार गरी ३ लाख १९ हजार रुपैयाँ बराबर चोरी भएको छ ।

तपाईको प्रतिक्रिया