काठमाण्डौ, राष्ट्रिय सभाको दिगो विकास समितिले कोरोना महामारी नियन्त्रणमा मात्रै ध्यान केन्द्रित गर्न सरकारलाई निर्देशन दिएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० सङ्क्रमण को जोखिम रहेका बेला महामारी नियन्त्रणका लागि अन्यन्त्र ध्यान नदिन समितिले निर्देशन दिएको हो ।
अहिलेको समयमा सबै एकजुट भएर काम गर्नुबाहेक अन्य विकल्प नभएको समिति सभापति तारादेवी भट्टले बताउनुभयो । संविधान र जनताको इच्छाविपरित जाने अधिकार कसैलाई पनि नभएको उल्लेख गर्दै समिति सभापति भट्टले सरकारलाई कोरोना नियन्त्रणमा मात्रै ध्यान केन्द्रित गर्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘एकजुट भएर काम गर्ने बेला हो । यसको अरु विकल्प नै छैन । यस्तो बेलामा गुट, टुटफुटको अवस्था हुनुहुँदैन भन्ने ध्यानाकर्षण गराउँछु । संविधानको मर्म र जनताको इच्छाविपरित जाने अधिकार कसैलाई पनि छैन भन्ने कुरामा सरकारको ध्यानाकर्षण पनि गराउँछु ।’
शुक्रबार बसेको समिति बैठकमा सांसद दीनानाथ शर्माले सीमानामा रहेका नागरिकहरुलाई सुरक्षित रुपमा देश भित्र्याउन माग गर्नुभयो । जनताको भोट र नोट रोमिट्यान्स लिने सरकारले उनीहरुको जीवनमाथि खेलवाड गर्न नहुने बताउनुभयो ।
समितिले सुदूरपश्चिमका विकट जिल्लाहरुमा किटको अभाव भएको, स्वास्थ्यकर्मीहरुका लागि अति आवश्यक स्वास्थ्य सामग्रीको अभाव भएको बताएको छ ।
सरकारले सुदूरपश्चिममा ३३ जना चिकित्सकहरु पठाएपनि बाजुरामा एक जना चिकित्सक पनि नपुगेको प्रति समितिले सरकारको ध्यानाकर्षण गराएको छ । यो भन्दा पहिले बाजुराका विकट गाउँपालिकामा नियुक्ति लिएका चिकित्सकपनि त्यहाँ जान नमानेको प्रति समितिले सरकारको ध्यानाकर्षण गराएको हो ।




