संखुवासभाको मकालु गाउँपालिका १ मा निर्माण हुने केबीएनआर इसुवा हाइड्रोपावर लिमिटेडले किर्ते कागजात बनाएर ३० करोड ठगी गरेको भन्दै पीडितहरू आन्दोलित भएका छन्। गाउँका निरक्षर सोझासिधालाई प्रलोभनमा पारेर खरिद गरेको जग्गाबाट ३० करोड ठगेको पीडितको आरोप छ।

हाइड्रो कम्पनीले स्थानीयसँग प्रतिआना एक लाखदेखि डेढ लाखसम्ममा खरिद गरी मालपोत कार्यालय खाँदबारीमा १४ लाख रुपैयाँमा खरिद गरेको भन्दै कागजात तयार गरी ठगी गरेको स्थानीयको दाबी छ।

कम्पनीका पदाधिकारीले स्थानीय उपभोक्तालाई विभिन्न प्रलोभनमा पार्दै कम्पनीकै नाममा जग्गा खरिद गर्ने सहमति गरेको थियो । हाइड्रो पावरका वीरेन्द्रबहादुर न्यौपाने र सञ्चालक समेतको उपस्थितिमा २०७५ फागुन १ गते कम्पनीको नाममा जग्गा खरिद गर्ने सहमती भएको थियो। तर कम्पनीका फिल्ड मेनेजर जितेन्द्र श्रेष्ठको नाममा खरिद गरेको कागजात बनाएको पाइएको छ।

स्थानीयबासीसँग १० लाखमा खरिद गरेको जग्गा जितेन्द्रले कम्पनीलाई एक करोड ७० लाखमा बिक्री गरेको प्रमाणसमेत भेटिएको छ। स्थानीयबासीले कम्पनीसँग तत्काल जग्गा फिर्ता गर्न अल्टीमेटम दिएको पीडित संघर्ष समितिका लाक्पा शेर्पाले बताए।

मकालु गाउँपालिका– १ मा निर्माण हुने हाइड्रो कम्पनीले सोही वडाका अध्यक्ष वाङदी छिरिङ शेर्पालाई हात लिएर काम गरेको पुष्टी भएको छ। काठमाडौंमा सुटुक्क सरोकार समिति गठन गरेर गाउँमै नपुगी कागजात मिलाएर अध्यक्ष शेर्पाले स्थानीयबासीलाई ठगी गर्न सहयोग पुर्‍याएको पीडित कर्मा शेर्पाले आरोप लगाए। उनले दुई लाख रुपैयाँमा बेचेको जग्गा अध्यक्ष र कम्पनीका प्रतिनिधि भनिएका जितेन्द्र श्रेष्ठले ३५ लाखमा कम्पनीलाई नै बिक्री गरेको प्रमाणसमेत फेला परेको छ। कम्पनीले प्रभावित क्षेत्रबाट दुई सय ५२ रोपनी जग्गालाई करिव ५ करोडमा खरिद गरी मालपोत कार्यालय खाँदबारीसँग मिलोमतो गरी करिब ३५ करोड मुल्यमा खरिद गरेको कागजात बनाएको पुष्टी भएको छ।

वडाध्यक्षको कमजोरी भन्दै पीडितले गाउँपालिकामा धर्ना दिएको मकालु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चमेली याम्फु राईले स्वीकार गरिन्। वडाअध्यक्षको नाम जोडिएपछि पटक–पटक सम्पर्क गर्दा पनि फोन नउठाएको र ३ महिना काठमाडौं नै बसेको राईले बताइन्।

९७।२ मेगावाट क्षमताको हाइड्रो पावर उत्पादनका लागि काम अघि बढाए पनि स्थानीयबासीलाई नै गुमराहमा पारेर करोडौ ठगी गरेको अध्यक्ष राईले बताइन्। ‘गुनासो आयो, छलफल गराउन कम्पनीलाई पत्र पठाएँ, पटक–पटक फोन गरें, तर अटेर गरेर अहिलेसम्म प्रतिकृया दिएका छैनन्,’ उनले भनिन्।

निरक्षर जनतालाई ठगेको प्रमाणित भएको र आम जनता तथा आफ्नो मन दुखेको उनको भनाइ थियो। ‘हाइड्रो सञ्चालन गर्नेभन्दा पनि कमाएर कम्पनी अन्यत्रै बिक्री गर्ने नियत राखेको पाइयो,’ कार्यवाहक अध्यक्ष राईले भनिन्। जनतालाई चित्त नबुझाए काम अघि बढाउन नदिने समेत उनले चेतावनी दिइन्।

वडाध्यक्ष वाङदी छिरिङ शेर्पाले फोनसमेत नउठाएको र विना जानकारी ३ महिना काठमाडौंमा बसेर कार्यपालिकाको दुई वटा बैठकमा अनुपस्थित भएको राईले बताइन्। निमुखा जनतालाई छक्याएर मालपोत कार्यालयका कर्मचारीले केही रकमको प्रलोभनमा परी रातारात काम गरेको दाबी स्थानीयको छ । हतारमा काम गर्दा केही कागजातमा मालपोत कार्यालयको छापसमेत लगाउन छुटेको पाइएको छ।

गुनासोपछि मालपोत कार्यालयमा बुझ्दा उल्टै हाइड्रो कम्पनीको पक्षमा बोल्ने गरेका पाएपछि आफ्नो क्षेत्रमा तत्काल गरेको कित्ताकाटको सबै विवरण माग गरेको राईले बताइन्। स्थानीयबासीको नाममा बनेको सरोकार समिति नै गैरकानुनी भएको र मालपोत कार्यालय तथा वडाध्यक्ष नै स्थानीयबासीलाई ठग्न संलग्न भएको गाउँपालिकाले निष्कर्ष निकालेको छ।

source : nepalnews.com

तपाईको प्रतिक्रिया