काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। शुक्रबार बिहान १० बजेबाट सुरु भएको बैठकमा संविधान संशोधनको प्रस्ताव, विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउनेलगायतका समसामयिक विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ।
सरकारले जारी गरेको नयाँ नक्सा कार्यान्वयनका लागि संविधान संशोधन गर्नुपर्ने बाध्यता छ। अघिल्लो मन्त्रिपरिषदको बैठकले सुगौली सन्धी अनुसारको नेपालको अन्तराष्ट्रिय सीमा कायम गर्दै नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो।
त्यसपश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा राखिएको निशान छापभित्र रहेको नेपालको नक्सा परिवर्तन गरेर नयाँ सार्वजनिक नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न संसदमा प्रस्ताव आउने जानकारी दिएका थिए।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बुधबार लिम्पियाधुरासहित राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेकी थिइन्। निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्नुपर्ने भएकाले आजको बैठकले उक्त प्रस्ताव संसदमा प्रस्तुत गर्ने निर्णय गर्ने बालुवाटार स्रोतले जनाएको छ। मन्त्रीको सार्वजनिक गरेसँगै निसान छाप, पाठ्यक्रम लगायतमा पहिलो पटक लिम्पियाधुरासहितको नक्सा समेटिने भएको हो।
आजको बैठकमा लकडाउनको मोडालिटी र विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउने विषयमा पनि छलफल हुने बताइएको छ।




