संखुवासभाको पाँचखपन नगरपालिका साक्षरता घोषणा भएको छ । बुधबार एक कार्यक्रमका बिच पाँचखपनलाई साक्षरता घोषणा गरिएको हो । तथ्यांक अनुसार पाँचखपन नगरपालिका ९७.०६ प्रतिशत साक्षरता रहेकाले साक्षरता घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठले बताए । नगरपालिकालाई शतप्रतिशत साक्षरता बनाउन सबैले हातेमालो गर्नुपर्ने नगर उपप्रमुख भिमादेवी राईले बताए ।
यो राष्ट्रिय अभियान नै भएकाले सबै क्षेत्र, निकायले अघि बढ्नु पर्ने कार्यक्रममा सहभागीहरुले बताएका थिए । संखुवासभामा साक्षरता घोषणा गर्ने पालिकाहरुमा पाँचखपन नगरपालिका दोस्रो भएको शिक्षा समन्वय इकाई संखुवासभाका प्रमुख केशव भटराईले बताए । यसअघि खाँदबारी नगरपालिकाले साक्षरता पालिका घोषणा गरेको थियो । संखुवासभालाई आगामी फागुन १२ गते साक्षरता जिल्ला घोषणा गर्ने भटराईले बताए ।
पाँचखपन नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य तथा प्रदेश नं. १ सामाजिक विकास शाखा सभापति सरिता खड्का, प्रदेशसभा सदस्य तुलसी प्रसाद गौतमलगायत स्थानीय बुद्धीजिवीहरुको उपस्थिती रहेको थियो ।