संखुवासभाको सिलिचोङ गाउँपालिका–३ का अति जोखिममा रहेका भूकम्प पीडित १३ घरपरिवारले लालपुर्जा पाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई संखुवासभाले जग्गा खरिद गरेर लालपुर्जा वितरण गरेको छ ।

भूकम्पबाट जग्गाजमिन गुमाएका हाल सिलिचोङ–३ का याचम्खा र साप्तले गाउँका १३ घरपरिवारलाई साढे १८ रोपनी जग्गा खरिद गरेर निःशुल्क रुपमा प्रदान गरिएको आयोजना कार्यान्वयन इकाइ प्रमुख नवीन देवले बताए ।

उनका अनुसार, केही समयअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रबाट नै प्राविधिकहरु आएर स्थलगत अध्ययनपछि उनीहरु बसिरहेको जग्गाजमिन अति नै जोखिम भएकाले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको हो ।

केन्द्रबाट आएको आत्मनिर्भर सेवा केन्द्र (दिगो समाधान)को प्राविधिक सहजीकरणमा सिलिचोङको जोखिमयुक्त बस्तीको रुपमा पहिचान भएको पहिरो र भूकम्प पीडितलाई सिलिचोङ–३ को मानेडाँडा नजिकै खोपुवा भन्ने ठाउँमा जग्गा व्यवस्थापन गरिएको आयोजना इकाइ प्रमुद देवले बताए ।

उनका अनुसार, स्थानीय जितेन्द्र राई, गजेन्द्र राई, डम्बरधन राई, प्रकाश कुलुङ, विरधन राई, किशोर राई, डिकबहादुर राई, पूर्णशंखर राई, परमकुमारी राई, नरबहादुर राई, मनमाया राई, मनबहादुर राई र शंकर राईलाई जग्गाजमिन उपलब्ध गराएको हो । प्रतिपरिवार जग्गा खरिदका लागि दुई लाख रुपैया पाउने भएकाले कुल २६ लाख रुपैया जग्गा खरिद गरिएको आयोजना प्रमुद देवको भनाइ छ ।

एकै ठाउँमा १३ घरपरिवारलाई एकीकृत बस्तीको रुपमा व्यवस्थापन गर्ने योजना अनुरुपमा काम अगाडि बढाइएको छ । तर, अहिले बर्खाको समय भएकाले निर्माण सामान ढुवानी गर्न असहजता भएकाले केही समयपछि निजी आवास पुनर्निर्माणको काम शुरु हुने जनाएको छ । प्राधिकरणले ती घरपरिवारका लागि निजी आवास निर्माण, सडक, पानी, बिजुली उपलव्ध गराउने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट जग्गाजमिन गुमाएकालाई निःशुल्क जग्गा उपलब्ध गराएपछि पीडितहरु खुसी भएका छन् । उनीहरुले कतिबेला ज्यान गुमाउने पर्ने हो भनेर रातभर निन्द्रा नपर्ने मानसिक पीडा खेप्न परिरहेको स्थानीय जितेन्द्र राईले बताए । राती वर्षा शुरु शुरु भएपछि घरबस्ती नै जोखिम भएकाले कति समय रातभर जागै बस्ने गरेको समेत सुनाए ।

उक्त स्थानमा जग्गा खरिद गरेर पीडितहरुको नाममा लालपूर्जा उपलब्ध गराइएको छ भने १० वर्षसम्म बेच्न नपाउने गरि जिल्ला मालपोत कार्यालयमा जग्गा रोक्का गरिएको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताए ।

सिलिचोङ गाउँपालिका जिल्लाको अतिजोखिम स्थानमा रहेको पालिका हो । उक्त पालिकाको अधिकांश क्षेत्रहरु बाढि पहिरो र भूकम्पको उच्च जोखिममा रहेको छ । भौगोलिक हिसाबले समेत एकदमै भिरालो रहेकाले गएको असार २८ गते पहिरो जाँदा ११ जना बेपत्ता छन् । भने नौ घर बगाएको थियो । गएको २०६६ सालमा समेत सिमदिममा पहिरो जाँदा १३ जनाको मृत्युू भएको थियो ।

तपाईको प्रतिक्रिया