स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने नाका हो, रूपन्देहीको बेलहिया। यो नाका करिब एक वर्षदेखि ठप्प छ। कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका खोल्ने निर्णय सरकारले गरे पनि बेलहियाबाट भित्रिन चाहने पर्यटकले अनुमति पाएका छैनन्।
लुम्बिनी प्रदेशका नेपालगन्ज, कृष्णनगर र महेशपुर नाकाको अवस्था पनि उस्तै छ। आउजाउमा रोक लगाइएकै छ। जिल्ला प्रशासनको आदेशमा कडाइ गरिएको नाकामा खटिएका सुरक्षाकर्मी बताउँछन्। भारतीयहरू व्यक्तिगत कामले सीमावर्ती बजारमा आउने गरे पनि पर्यटकका रूपमा भित्रिन सकेका छैनन्।
‘भारतीय पर्यटक गाडीमा परिवारसहित नाकासम्म आइरहेका हुन्छन्’, रूपन्देहीको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारी भन्छन्, ‘तर, अनुमति नहुँदा हामी उनीहरूलाई सीमाबाटै फर्काउन बाध्य छौँ।’
भारतबाट आउने नेपालीलाई प्रहरीले नाम, ठेगानासहितको अभिलेख राखेर प्रवेशको अनुमति दिने गर्छ। भारतीयको हकमा सरकारी परिचयपत्र राखेर भन्सारसँग सम्बन्धित काम गर्ने भन्सार एजेन्ट, बिरामी, विद्यार्थीलगायत अत्यावश्यकलाई मात्र आउन दिने गरिएको छ।
‘सरकारले लकडाउनपछि एकातिर होटल व्यवसाय खोल्नु भन्यो, अर्कोतिर सीमा बन्द यथावत् नै राखेको छ’, लुम्बिनी होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष गोविन्द ज्ञवाली भन्छन्, ‘सीमा बन्द गरेर राखेपछि पर्यटक कसरी आउँछन् त रु हामीलाई मुर्ख मात्र बनाइएको छ।’
होटल व्यवसाय खुला गरिए पनि नाका नखुल्दा पर्यटन व्यवसाय लकडाउनसरहकै अवस्थामा रहेको उनको भनाइ छ। ‘सीमा क्षेत्रको व्यवसाय भारतीय पर्यटकबाट आश्रित छ’, उनी भन्छन्, ‘भारतीय पर्यटकलाई नै आउन नदिने हो भने पर्यटन क्षेत्र चलायमान हुन सक्दैन। हामीले पर्यटक स्वागत गर्न जरुरी छ।’
सिद्धार्थ बिजनेस गु्रपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेका अनुसार यो सिजनमा बास बस्ने पर्यटकमध्ये कम्तीमा ८–१० प्रतिशत भारतीय हुन्थे। बिहान आएर साँझ फर्कनेको संख्या त अझै धेरै हुन्थ्यो। भन्छन्, ‘बाँके, बर्दियाका पर्यटकीय क्षेत्र घुम्न र क्यासिनोमा भारतीय पर्यटक आउँथे। अहिले पर्यटक शून्य छ।’
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे बेलहिया नाकामा प्रक्रिया पुर्याएर आउने अत्यावश्यक ९प्राविधिक, मजदुरलगायत० भारतीय नागरिक र स्वदेश फर्किने नेपालीको अभिलेख राखेर मुलुक भित्र्याउने कार्य भइरहेको बताउँछन्।
बाँकेको जमुनाहा नाकाबाट भारतीय निजी जिप, कार आवतजावत बन्द भएपछि यहाँका पर्यटकीय क्षेत्र प्रभावित भएका छन्। होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेल विगतमा दैनिक हजार हाराहारीमा भारतीय पर्यटक आउने गरेको सुनाउँछन्। भन्छन्, ‘दैनिक कम्तीमा २ सय गाडी आउँथे। यहीँबाट काठमाडौं, पोखरा जान पनि आउँथे। अहिले भारतीय पर्यटक आगमन ठप्प छ।’
सीमा प्रहरी चौकी जमुनाहाका इन्चार्ज विष्णु गिरी भारतीय निजी सवारी आवतजावतमा रोक लगाइएको बताउँछन्। ‘सीडीओ कार्यालयबाट अनुमतिपत्र लिएर आउने भारतीय गाडीलाई मात्र भन्सार कार्यालयले आउन दिन्छ। अरू गाडी भन्सार कार्यालयले नै प्रवेश गर्न दिँदैन’, इन्चार्ज गिरी भन्छन्, ‘विगतमा भारतीय गाडी नेपालगन्जसम्म निर्वाध आवतजावत गर्न पाउँथे। भन्सार पनि तिर्नु पर्दैनथ्यो। अहिले भारतीय एसएसबीले पनि आउन दिँदैन।’ अहिले नेपाल–भारत जमुनाहा नाकामा भारततर्फ एसएसबी क्याम्पसम्म र नेपालतर्फ जमुनाहा नाकामा गाडी रोकेर मात्र पैदल सीमा पार गर्न दिइन्छ। गाडी जान नपाए पनि भारतीय बजार रूपैडियामा भने किनमेल गर्न जानेहरू भने बढेका छन्।
यस्तै, विराटनगरका होटल एवं पर्यटन व्यवसायी पुण्य भट्टराई पनि नेपाल–भारत नाका खुलेको खबरले खुसी भएका थिए। नाका खुलेपछि नेपाल आउने भारतीयको चहलपहल बढ्ने अपेक्षा भट्टराईको थियो। कोरोना महामारीले थलिएको पर्यटन व्यवसायले विस्तारै गति लिने आशा राखेका थिए भट्टराईले। तर, नाकाको सम्बन्धमा स्पष्ट ढंगले निर्णय सरकारले नगरेको भट्टराई बताउँछन्।
‘नाका खुल्ने आस गरेर बस्दाबस्दै हैरान भइसकियो। संक्रमण कम हुँदै गइरहँदा पनि नाका बन्द नै रहँदा भारतीय पर्यटकमा निर्भर प्रदेश १ को पर्यटन क्षेत्र झन् धराशयी बनेर गएको छ’, भट्टराई भन्छन्।
नेपाल–भारत नाका झन्डै ११ महिनादेखि सञ्चालनमा नआउँदा सबैभन्दा बढी पर्यटन क्षेत्रमा असर परेकोे उनी बताउँछन्। ‘कोरोनाका कारण बन्द गरिएका सबै क्षेत्र खुलेर अवस्था सामान्य बनिसक्यो’, उनी भन्छन्, ‘तर, नाका ठप्प हुँदा पर्यटन क्षेत्र भने झन् धराशयी बनिरहेको छ।’
आन्तरिक पर्यटक पुनरुत्थान समिति प्रदेश १ का संयोजक भविषकुमार श्रेष्ठ प्रदेशमा आउनेमध्ये ५० प्रतिशत पर्यटक भारतीय रहेको सुनाउँछन्। ‘यहाँको ५० प्रतिशत पर्यटन क्षेत्र भारतीयबाट धानिएको थियो’, संयोजक श्रेष्ठ भन्छन्, ‘तर उनीहरूले नेपालमा खुट्टा राख्न नपाएको एक वर्ष हुन लाग्यो।’
पर्यटक भित्र्याउन सरकारले उचित पहल गर्न नसक्नु दुर्भाग्य रहेको श्रेष्ठको भनाइ छ। ‘घुम्न आउने मान्छे हिँडेर र दुःख गरेर आउँदैनन्। यो कुरा खै त सरकारले बुझेको रु’, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को पर्यटन तथा हवाई यातायात संयोजकसमेत रहेका श्रेष्ठ भन्छन्।
झापा ट्राभल संघका अध्यक्ष नीरबहादुर कार्की काँकडभिट्टा नाकाबाट सहज रूपमा पर्यटक प्रवेश गर्न नपाएको बताउँछन्। सरकारले नाका खुलेको बताए पनि विभिन्न सर्त राखेका कारण पर्यटक आउन नसकिरहेको अध्यक्ष कार्कीको भनाइ छ। जसकारण पर्यटकलक्षित व्यवसाय सञ्चालन गर्ने अवस्था नरहेको उनी बताउँछन्।
‘भारतबाट पर्यटक आउलान् र होटल, ट्राभल एजेन्टलगायत पर्यटन क्षेत्र फेरि चलायमान होलान् भनेर आस गर्न सकिएको छैन’, उनी भन्छन्, ‘नेपालमा हुलका हुल दौडन्छन्, सीमाबाट पर्यटक छिर्न दिँदैनन्।’ उनका अनुसार नाकामा अझै ७२ घण्टाको पीसीआर रिपोट खोजिन्छ। गाडी आवतजावत छैन। सिलीगुडी, दार्जलिङलगायत सीमा नजिकैका भारतीय आफन्त भेटघाट गर्न मात्र आउने गरेको उनको भनाइ छ।
क्षेत्रीय होटल व्यवसायी संघ प्रदेश १ का अध्यक्ष राजन श्रेष्ठ भारतबाट धार्मिक, सांस्कृतिक, प्राकृतिक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रका पर्यटक आउने गरेको बताउँछन्। ‘यहाँका धार्मिक तीर्थस्थल घुम्न र दर्शन गर्न भारतबाट धार्मिक पर्यटक सबैभन्दा बढी नेपालमा आउँछन्’, होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ भन्छन्, ‘खोला, हिमाल, लालीगुराँस, वन्यजन्तु, नदीनाला, जंगल, पहाडलगायत प्राकृतिक सम्पदा अवलोकनका लागि प्राकृतिक पर्यटन आउने गरेका छन्।’
प्रदेश १ मा भारतबाट प्रवेश गर्न इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको विराटनगरस्थित जोगबनी र सुनसरीको वीरपुर ठूला नाका हुन्। नेपाल–भारत आउजाउ गर्न यहाँ २३ वटा साना–ठूला नाका रहेको व्यवसायीको भनाइ छ।
यो प्रदेशमा पाँचतारेसम्मका र पर्यटकीय स्तरका चार हजार होटल सञ्चालनमा छन्। पर्यटक अभाव हुँदा अर्बौँ लगानी गरिएका होटल धाराशयी बनेका छन्। कतिपय बन्द छन्।
सीमा नाका हुँदै आउने नेपालीको हकमा आवश्यक रेकर्ड राखेर स्वास्थ्य परीक्षणपछि मात्र भित्रिन दिने व्यवस्था मिलाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला बताउँछन्। भारतीयको हकमा गृह मन्त्रालयसँग स्वीकृति लिएर मात्रै नेपाल प्रवेश दिने व्यवस्था छ। त्यस्तै, नयाँ स्वरूपको भाइरस देखिएको ठाउँबाट आउने नागरिकले ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट पनि साथमा लिएर आउनुपर्ने नियम रहेको निरौलाको भनाइ छ।
प्रदेश २ मा पनि नाका खोल्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन। प्रदेश २ का वीरगन्ज ९पर्सा०, कुनौली ९सप्तरी०, जटही ९धनुषा०, इनर्वा ९धनुषा०, भिठ्ठामोड ९महोत्तरी०, मलंगवा ९सर्लाही०, बंकुल ९रौतहट०, मटिअर्वा ९बारा०, सिम्रौनगढ ९बारा०, माडर ९सिरहा०, गौर ९रौतहट० गरी ११ नाका खोल्ने निर्णय भएको हो। तर, यी नाकाबाट सर्वसाधारणले सहजै आउजाउ गर्न पाएका छैनन्।
‘नाका के–कति खोल्ने, नखोल्नेबारे प्रमुख जिल्ला अधिकारीको निर्देशनका आधारमा हामीले सुरक्षाकर्मीलाई व्यवहार गर्न भनेका हुन्छौँ’, प्रदेश २ का सशस्त्र प्रहरी बलका डीआईजी चन्द्रप्रकाश गौतम भन्छन्।
वीरगन्ज नाकामा मानिसको आउजाउ हुन थाले पनि मालवाहकबाहेक अन्य सवारी साधनलाई सुरक्षाकर्मीले फिर्ता पठाइदिने गरेका छन्। जसकारण नेपाल आउन चाहने भारतीय दसगजा क्षेत्रमै सवारी साधन थन्क्याएर पैदल वीरगन्ज आउजाउ गर्न बाध्य छन्।
वीरगन्जको इनर्वास्थित सीमा प्रहरी चौकीका प्रमुख प्रहरी नायब उपरीक्षक पूर्ण दाहाल मालवाहकबाहेकका भारतीय सवारी साधन प्रवेश गर्न नदिने निर्देशन रहेको सुनाउँछन्। ‘नाका खुलेको भनेर कुनै आधिकारिक निर्देशन हामीलाई छैन। मालवाहकबाहेक अन्य सवारी साधनलाई नाकामै रोकेर फिर्ता पठाइदिने गरेका छौँ’, दाहाल भन्छन्। विवाह, उपचारजस्ता अत्यावश्यक कामका लागि आएका सवारी साधनलाई भने आउजाउ गर्न दिइरहेको उनको भनाइ छ।
पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल गृह मन्त्रालयबाट आधिकारिक रूपमा कुनै निर्देशन वा परिपत्र नआएकाले नाका बन्द नै रहेको बताउँछन्। ‘सरकारले वीरगन्जसहित ३० वटा नाका खोल्ने निर्णय गर्यो भन्नेबारे हामीले पनि मिडियामार्फत सुनेका हौँ’, पौडेल भन्छन्, ‘तर, अहिलेसम्म गृहबाट यस विषयमा कुनै परिपत्र आइपुगेको छैन। त्यसैले नाका खुलिसक्यो भन्ने अवस्था छैन।’
भारतले कात्तिक ६ गतेदेखि एकतर्फी आफ्नो नाका खोलेको थियो। त्यसपछि वीरगन्ज–रक्सौल नाकाबाट आवागमन हुन थालेको उनको भनाइ छ।
सिरहास्थित माडर नाकाबाट पैदल यात्रु आवागमन गर्न पाएका छन्। यसबाहेक ठाडी, लदनियाबाट लुकीछिपी आउजाउ चलिरहेको छ। सवारीसहित आउजाउ गर्न रोक लगाइएकै छ। नाकाबाट आउजाउ सहज नभएको भगवानपुर गाउँपालिका ठाडीका लक्ष्मी यादव बताउँछन्। ‘विवाह र सामान ल्याउन पनि समस्या भइरहेको छ। सिरहामा एक मात्रै नाका खोल्यो। हाम्रो नजिकको खोलिएको छैन। आवागमनमा कठिनाइ भोग्नुपरिहेको छ’, उनी भन्छन्, ‘कोरोनाले गर्दा अहिलेसम्म सीमा क्षेत्रमा व्यवसाय खस्केकै छ।’
सीमा नाका अझै बन्द भनिए पनि लुकीछिपी वारिपारि गरिरहेको ठाडीका कन्हैया भट्ट सुनाउँछन्। ‘दिनहँु नाकाभन्दा वैकल्पिक बाटोमा भारत–नेपाल भइरहेको छ। सरकारले जनतालाई सहज हुनुपर्ने वातावरण मिलाइदिनुपर्छ’, उनी भन्छन्।
तोकिएको नाकामा आवागमनमा कुनै कठिनाइ नरहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल बताउँछन्। ‘पैदल यात्रुका लागि सहज रूपमा आवतजावत भइरहेको छ। सवारी साधन भने रोकिन्छ’, कणेल भन्छन्।
पैठारी खुला नगरिए पनि मालवाहक सवारी भन्सार कटाएर आउनेरजाने भइरहेको माडर भन्सार कार्यालयका प्रमुख जगदीश पूर्वे बताउँछन्। सवारी चालकलाई सीमामै स्थापना गरिएका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरी आवतजावत गर्न दिइएको उनको भनाइ छ। सर्वसाधारणलाई विवाह, आवश्यक सरसामान ल्याउन भारतीय सुरक्षाकर्मीसँग पनि सहजीकरण गरी सहयोग गरिरहेको सशस्त्र प्रहरी सिरहाका एसपी दीपेन्द्र गिरी बताउँछन्।
जनकपुरको जानकी मन्दिरमा पर्वत्योहारका बेला मेला भर्न आउने भारतीय पर्यटकको भीड हुन्थ्यो। बजारमा किनमेल गर्नेहरू बढ्थे। होटलमा बस्ने ठाउँ हुँदैनथ्यो। तर, हाल व्यापार निकै खस्किएको जनकपुरका व्यवसायी अनिल साह बताउँछन्।
कोरोना महाकारी र लकडाउनका कारण थलिएको सीमा क्षेत्रको होटल तथा पर्यटन व्यवसाय भारतीय पर्यटक नआउँदा धराशयी बनेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्त बताउँछन्।
कोरोना महामारीमा बन्द भएका होटल लकडाउन खुलेपछि पुनः लयमा फर्किने अपेक्षा गरिएको थियो। तर, नाकामा भारतीय सवारी साधन प्रवेशमा अहिले पनि रोक लगाइएकाले होटल तथा पर्यटन व्यवसाय चौपट भएको अध्यक्ष पन्त बताउँछन्। ‘पर्सा बारामा रहेका होटलका ९० प्रतिशतभन्दा बढी ग्राहक भारतीय पर्यटक नै हुन्’, उनी भन्छन्, ‘एक त लकडाउनमा झण्डै ८ महिना यहाँका सबै होटल बन्द भए। माघ ११ मा सरकारले नाका खोल्यो भनेपछि व्यवसाय पुनः लयमा फर्किन्छ भन्ने अपेक्षा थियो। तर, हालत उही लकडाउनकै जस्तो छ। भारतीय पर्यटक नआउँदा होटलको खर्च धान्न पनि धौधौ छ।’
सरकारले नाका खोलेको भने पनि नेपाल प्रवेश गर्ने झन्झटिलो प्रक्रिया र नाकामा खटिएका सुरक्षाकर्मीले दुःख दिने गरेका कारण भारतबाट पर्यटक आउन नसकेको बाराका होटल व्यवसायी एवं आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश २ का सहसंयोजक मोहन शर्मा लामिछाने बताउँछन्। भारतीय पर्यटकको हकमा सरकारले निर्दिष्ट गरेको नियम प्रक्रिया एकदमै झन्झटिलो रहेको सहसंयोजक शर्माको भनाइ छ।