-कमान सिं कुलुङ

प्रसङ्ग राष्ट्रिय परिचय पत्र विवरण संकलनको अभियान जिल्लामा सञ्चालन भैरहेको थियो । यसैक्रममा कुलुङको पहिचान खुलाउनका लागि राष्ट्रिय परिचय पत्रको विवरणमा जात कुलुङ, भाषा कुलुङ, धर्म किरांत लेख्ने अभियान हामी सबैले व्यापक सञ्चालन गरिरहेका थियौं । आफ्नो वडा, गांउ तथा नगरपालिकामा राष्ट्रिय परिचय पत्र विवरण संकलन गर्न नसकेकाले जिल्ला प्रशासन कार्यालयबाट संकलन गर्न सकिने प्रवधान अनुसार धेरैले त्यहांबाट संकलन गरेका थिए । मैले पनि त्यहींबाट गरे ।

एक जना कुलुङ जातकी बहिनीले पनि विवरण फर्म भराउदै थिईन । मैले उनलाई आफ्नो भाषामा नै कुलुङ लेख्न आग्रह गरे । तर उनले मानिनन् । हुंदै हुंदैन राई नै लेखिदिन आग्रह गरे । विवरण संकलकले त्यही विवरण भरिदिए । यो एउटा प्रतिनिधि पात्र मात्र हो । हामीले खोजेको पहिचानको मुख्य मुद्धा रहेको यो राष्ट्रिय जनगणना २०७८ को संघारमा कतै उहीं कुरा दोहोरिने त होइन? जसको परिणाम लामो समयबाट थांती रहेको पहिचानको मुद्धा ओझेलमा पर्न गई राज्यको नीति निर्माण तह र राज्य प्रद्धत अवसरहरुबाट कुलुङ जाति उपेक्षामा रहिरहने अवस्था हुन्छ । यसर्थ यो पटक हामी सबै सजग र सचेत हुन जरुरी देखिन्छ ।

“मेरो गणना मेरो सहभागिता राष्ट्रिय जनगणना २०७८” अभियानलाई सफल पार्न हामी विशेषतः सूचिउन्मुख आदिबासी जनजातिहरु सबैको जिम्मेवारी रहेको छ । यस सन्दर्भमा अझ कुलुङ समुदायको छुट्टै भाषा, छुट्टै संस्कृति, परम्परागत रीतिरिवाज, सामाजिक संरचना भएको आफ्नो पहिचानलाई यस अभियान मार्फत सफल पार्न सम्पूर्ण कुलुङहरु लागि पर्नु पर्ने जरुरी रहेको छ ।

नेपाल आदिबासी जनजाति महासंघको विधान, अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ को प्रावधान अनुरुप पहिचानका आधारहरु भएको समुदाय राईकरणको कारण २०६८ को जनगणना भन्दा अगाडि जनगणनामा गणना भएको थिएन । ११ औं जनगणना २०६८ मा पहिलो पटक जाति कुलुङ, भाषा कुलुङ र धर्म किरातबाट यो समदायको जनसंख्या गणना भएको थियो ।

१२ औं जनगणना २०७८ मा कुलुङहरुले आफ्नो जाति कुलुङ, भाषा कुलुङ, धर्म किरात, पुर्खाको भाषा कुलुङ लेख्न सक्ने केन्द्रीय तथ्याङ्क विभागले प्रकाशन गरेको कोडको सूचीमा क्रमशः जाति कुलुङको कोड टद्द महल ७, भाषा कुलुङको कोड द्दढ महल ९, धर्म किरातको कोड ण्द्ध महल ११, पुर्खाको भाषा कुलुङको कोड द्दढ महल ८ मा रहेको अवस्था छ । यो पटकको राष्ट्रिय जनगणनाको अवसरमा अनिवार्य रुपमा लखौं र लेखाऔं ।

कुलुङ समुदाय देशका २२ वटा भन्दा बढी जिल्लाहरुमा छरिएर रहेको पाइन्छ । यो जिल्लाको सन्दर्भमा २०६८ को जनगणना अनुसार जम्मा १० वटा पालिकाहरु मध्ये ७ वटा पालिकाहरुमा रहेको देखिन्छ । ति मध्ये सिलिचोङ (८४७९), मकालु (४६३), चिचिला (१८७), भोटखोला (१७) गांउपालिकाहरु र खांदबारी (४१८), चैनपुर (१६६) नगरपालिकाहरुमा जनसंख्या रहेको पाइन्छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार देशमा कुलुङ जातिको जम्मा जनसंख्या २८६१३ र कुलुङ मातृभाषा बोल्ने ३३१७० मात्र देखिएको छ भने संखुवासभा जिल्लामा क्रमशः ९७५५ र १०५१७ अर्थात कुल जनसंख्याको क्रमशः ६.१५% र ६.६३% जुन चौथो ठूलो जनसंख्या भएको देखिएको छ । यो जनसंख्या यस पटकको राष्ट्रिय जनगणनाबाट पांचौ गुणा बढी रहेको देखाउन सकिने हामी सबैको हातमा रहेको छ । देशभरी अनुमानित २ लाख र संखुवासभा जिल्लामा ५० हजार भन्दा बढी कुलुङको जनसंख्या देखिनको हामी सबैले जिम्मेवारी निभाऔं ।

तपाईको प्रतिक्रिया