काठमाण्डौ । देशका चार प्रदेशमा लगातारजसो पानी परिरहेको छ । प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशमा लगातारजसो पानी पर्दा बाढी पहिरोको जोखिम उच्च भएको छ ।
लगातारको वर्षाले खोलानालामा पानीको सतह बढेको छ भने पहिरोका कारण मुख्य राजमार्गसहित ग्रामीण सडकको यात्रा कष्टकर हुन थालेको छ ।
आज पनि यी चार प्रदेशमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको तुलनामा मधेस प्रदेशमा केही कम पानी पर्ने अनुमान छ । तर, लगातार पानी परिरहेकाले हल्का तथा मध्यम वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
चार प्रदेशमा वर्षाले बाढी पहिरोको जोखिम बढाएका बेला तीन प्रदेश लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने गर्मी बढ्दो छ । आज पनि यी तीन प्रदेशमा घाम चर्किने अनुमान गरिएको छ । गर्मीले त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ।
पछिल्लो २४ घण्टामा नेपालगञ्जको अधिकतम तापक्रम ४० दशमलव ४ डिग्री सेल्सियस पुगेको छ भने दिपायलको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । यस्तै, वीरेन्द्रनगरको ३७ दशमलव ५ डिग्री सेल्सियस, दाङ घोराहीको ३५ डिग्री सेल्सियस र डडेलधुराको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस छ।