सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनको तर्फबाट उपलब्ध हुनुपर्ने मल समयमा नै उपलब्ध नभएका कारण बजारमा मलको अभाव भएको स्पष्ट पारेको छ ।

कृषि तथा पशुपक्षि विकास मन्त्रालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिका अनुसार मल आपूर्तिका लागि कृषि सामग्री कम्पनीको तर्फको १ लाख ५ हजार मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कर्पोरेसनको तर्फबाट १ लाख १७ हजार मेट्रिक टन मल समयावधिभित्र उपलब्ध नगराएकाले मल आपूर्तिमा अभाव सृजना भएको हो । समयावधिभित्र मल उपलब्ध नगराउने त्यस्ता आपूर्तिकर्ताको ठेक्का रद्द गरी कार्यवाही प्रक्रियामा समेत अगाडी बढाएको मन्त्रालयले जनाएको छ ।

सरकारले जिटुजी सम्झौतामार्फत ५० हजार मेट्रिक टन युरीया तथा ३० हजार मेट्रिक टन डिएपी खरिद गर्ने तयारी गरेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले असार मसान्तभित्रमा भारतबाट उक्त मल खरिद गरिने पनि जनाएको छ । तर, हाल खेतीको मौसम सुरु भइसक्दा पनि किसान मल नपाएको गुनासो गरेका छन् ।

त्यसैले मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गर्ने मध्ये २० हजार मेट्रिक टन मल प्राप्त भइरहेको छ भने, २२ हजार मेट्रिक टन युरिया जेष्ठ अन्तिम हप्तादेखि प्राप्त हुन सुरु हुने छ । साथै कृषि सामग्री कम्पनीले खरिद गर्ने मध्ये ३० हजार मेट्रिक टन युरिया असारको दोस्रो हप्तादेखि प्राप्त हुने बताइएको छ । २० हजार मेट्रिक टन असारको तेस्रो हप्तादेखि प्राप्त हुने मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय रासायनिक मलको सहज आपूर्तिका लागि निरन्तर प्रयासरत रहे पनि विश्व बजारमा आएको मलको मूल्यको उतार चढावको कारणले मल आपूर्तिमा असहजता भएको स्विकार गरेको छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा युरियाको मूल्य ५५ प्रति केजी र डिएपीको मूल्य ८२ प्रति केजी रहेकोमा हाल अन्तर्राष्ट्रिय बजारमा युरियाको मूल्य करिब ९८ प्रति केजी र डीएपीको मूल्य करिव १५० रुपैयाँ प्रति केजी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया