भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा रहेको गान्धि मेमोरियल हस्पिटल भवनमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । नेपाली कांगेस षडानन्द नगरकार्य समितिको आयोजना तथा नोवेल मेडिकल कलेज र टिचिङ अस्पतालको प्राबिधिक सहयोगमा बैशाख १३ गते निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।

षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र अरुण गाउँपालिकावासीहरुलाई सहज ढंगबाट स्वास्थ्य लिन सकोस भन्ने उदेश्यले शिविरको आयोजना गरिएको हो । कोशी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस जिल्ला समिति भोजपुरका सभापति विनोद वान्तवा र मोरङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य सुनिल शर्माको विशेष पहलमा शिविरको आयोजना गरिएको नेपाली कांग्रेस षडानन्द नगर समितिका सचिव ज्ञानेन्द्र राईले जानकारी दिए ।

शिविरको सह–आयोजक षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र अरुण गाउँपालिका रहेको छ । शिविरमा जेनेरल मेडिसिन, मुटु रोग र इको (मुटुको विशेष जाँच), फोक्सो रोग, प्रसुति तथा स्त्री रोग, बाल रोग, हाड जोर्नी तथा नशा, न्युरो सर्जरी, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, आँखा परीक्षण लगायतका सेवाहरु नागरिकलाई प्रदान गरिने छ ।

“प्रभावकारी सेवा पाउनबाट बञ्चित भोजपुरका नागरिकलाई लक्षित गरेर शिविर आयोजना भएको हो, स्वास्थ्यकर्मीबाट सिफारिस भएका विरामीलाई निःशुल्क शल्यक्रियासँगै आवश्यक उपचारको व्यवस्था हुन्छ” आयोजकको भनाई छ ।

तपाईको प्रतिक्रिया