काठमाण्डौ, कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको कारण अहिलेसम्म विश्वभर दुई लाख ६८ हजार नौ सयभन्दा धेरैको ज्यान गएको छ । ३८ लाख ३६ हजार दुई सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

अमेरिका विश्वको सबैभन्दा धेरै प्रभावित देश हो । अमेरिकामा मात्रै १२ लाख ५४ हजार सात सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ७५ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

अमेरिकापछि बेलायतको कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित बनेको छ । बेलायतमा सङ्क्रमणको कारण ३० हजार ६ सयभन्दा धेरैको ज्यान गएको छ भने दुई लाख सात हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

इटलीमा अहिलेसम्म २९ हजार नौ सयभन्दा धेरैको ज्यान गएको छ । सङ्क्रमणको कारण ज्यान गुमाउने आधारमा इटली तेस्रो नम्बरमा छ । इटलीमा दुई लाख १५ हजार आठ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

स्पेनमा ज्यान गुमाउनेको सङ्ख्या २६ हजारभन्दा धेरै छ । त्यस्तै दुई लाख २१ हजार चार सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

फ्रान्समा ज्यान गुमाउनेको सङ्ख्या झण्डै २६ हजार पुग्न लागेको छ । फ्रान्समा एक लाख ७४ हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

युरोपमा दैनिक ज्यान गुमाउनेको सङ्ख्यामा कमी
फ्रान्समा बुधबार दुई सय ७८ जनाको ज्यान गएको थियो । बिहीबार ज्यान गुमाउनेको सङ्ख्या एक सय ७८ छ । फ्रान्सका प्रधानमन्त्रीले लकडाउनमा केही छुट दिने बताएका छन् तर पेरिस र उत्तर–पूर्वमा प्रतिबन्ध यथावत् रहिरहनेछ ।

इटलीमा पनि कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको छ । बुधवार इटलीमा दुई सय ७४ जनाको ज्यान गएको थियो, बिहीवार यो सङ्ख्या केहीले घट्यो ।

स्पेनमा बुधबार दुई सय ४४ जनाको ज्यान गएको पुष्टि भएको थियो तर बिहीवार यो सङ्ख्या दुई सय १३ मा झरेको छ । स्पेनको संसदमा बुधवार राति आपत्काल दुई हप्ता बढाउनको लागि मतदान भयो, जसका कारण मानिसको गतिशीलतामा अझै नियन्त्रण गर्न सकियोस् ।

युरोपेली सङ्घको सदस्य देशमध्ये पोल्याण्डमा मृत्युदर कुनै दोस्रो देशको तुलनामा कम छ । पोल्याण्डमा पछिल्लो २४ घण्टामा तीन सय २४ जनामा सङ्क्रमण पुष्टि भएकोमा २२ जनाको ज्यान गएको छ ।

क्यालिफोर्नियाका गभर्नर गेविन न्युजोमले प्रान्तका केही व्यवसायमा केही छुट दिने बताएका छन् । भारतको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा ५२ हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा १५ हजार दुई सय ६७ जना निको भएका छन् । सङ्क्रमणको कारण अहिलेसम्म एक हजार सात सय ८३ जनाको ज्यान गएको छ ।

नेपालमा हिजो दुई जना सङ्क्रमित थपिएसँगै एक सय एक जनामा सङ्क्रमण पुष्टि भएको छ भने अहिलेसम्म २२ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया