काठमाण्डौ, वैशाख १० गते दुइटा मधेशकेन्द्रित दलहरु एकीकृत भएर जनता समाजवादी पार्टी (जसपा)को घोषणा हुँदा रातिको समय थियो । अधिकांश मधेशी नेता, कार्यकर्ताहरुले पार्टी एकतासम्बन्धी खबर भोलि बिहान मात्रै थाहा पाएका थिए । भोलिपल्ट दिनभरि मधेशका साथीहरुको फोन आइरहयो । लगभग सबैको जिज्ञासा हुन्थे, ‘हैन, साँच्चिकै एकीकरण भएको हो ? कति दिन टिक्ने हो यो एकीकरण ?’
कुराकानीबाट थाहा हुन्थ्यो, समाजवादी पार्टी ९सपा० र राष्ट्रिय जनता पार्टी (राजपा) को एकीकरणबाट आममधेशी निकै खुसी थिए । साथीहरुको खुसीमा आफू दुःखी हुने कुनै कारण थिएन । मधेशी समाजका विभिन्न पक्षबारे अध्ययनमा रुचि राख्ने एक विद्यार्थीको नाताले मेरो मनमा पनि पार्टीहरुको निर्माण र विभाजन प्रक्रियाबारे अनेकौँ प्रसङ्ग खेल्न थाले । खासगरी यसको आयुलाई लिएर मनमा अनेकौँ प्रश्नहरु खेलिरहे ।
यस विषयमा आफ्नो ज्ञानको सीमितताको कारण पूर्व प्रकाशित सामाग्रीहरुको खोजीतिर लागेँ । कृष्ण हाछेथुले धेरै पहिला लेख्नुभएको ‘नेपालमा दल निर्माण’ भन्ने पुस्तक दोहोराएर पढेँ । राजनीति शास्त्रका प्राध्यापक लोकराज बराल र महेन्द्र लावतीसँग कुराकानी गरियो । भारतका प्रख्यात राजनीति शास्त्री योगेन्द्र यादवबाट इमेलमार्फत केही जान्ने प्रयास गरियो ।
दक्षिण एशियामा दलहरुबीचको एकीकरण र विभाजनको व्याकरण बुझ्ने मेरो चाहना थियो । विद्वानहरुको तर्कमा देशभित्रको राजनीतिक सङ्कट बढेको बेला वा आफ्नो दलीय अस्तित्व सङ्कटमा रहेको वेला दलहरु एकीकरण वा गठबन्धन गर्दा रहेछन् । यदाकदा दलको विचार, रणनीति तथा कार्यक्रमका कारण नफुटने होइन । तर धेरैजसो विभाजन दलभित्रका उस्तै कदका ठूला नेताहरुबीचको व्यक्तित्वको टकराब र महत्त्वाकाङ्क्षाका कारण हुने गरेको बुझियो । गठबन्धन सरकार निर्माणका वेला प्रायः दलहरु फुट्दा रहेछन् ।
मेरो सारा ध्येय मधेशी दलहरुबीच भएको एकीकरण र विभाजनउन्मुख नेकपाको राजनीतिको सैद्धान्तिक पक्ष बुझनुमा केन्द्रित थियो । कतिपय लेखहरुमा उल्लेखित केही कुरा त नेपाली परिवेशमा पनि ठ्याक्कै मिल्यो ।
पहिलो, जसपाको गठन हेरौँ । प्रधानमन्त्री ओलीले दल विभाजनलाई सजिलो हुनेगरी ल्याउनुभएको अध्यादेशबाट तत्काललाई समाजवादी पार्टी विभाजन हुने र दीर्घकालमा राजपा पनि बाँकी नरहने कुरा दुबै दलका नेताहरुले ठम्याएपछि रातारात एकीकरण भएको देखियो । कारण अरु पनि थिए होलान् । तर अहिलेलाई अस्तित्वमाथिको हमला नै प्रमुख देखियो ।
दोस्रो, एमाले र माओवादीको मिलनलाई पनि लिन सकिन्छ । दोस्रो संविधानसभाको निर्वाचनपछि अनेक गर्दा पनि प्रचण्ड नेतृत्वको माओवादी पार्टीले केही गर्न नसकेपछि र प्रचण्डलाई चौतर्फी घेराबन्दी गर्न थालिएपछि १६ बुँदे सहमति भएको थियो । त्यो सहमतिले कालान्तरमा खसआर्यको वर्चस्व स्थापित गर्ने संविधान मात्र जारी गरेन, माओवादीहरुलाई एमालेमा विलय हुन बाध्य गरेको थियो ।
विभाजनबारे सोधखोज गर्दै जाँदा थाहा हुन्छ । पार्टीमा सैद्धान्तिक विवाद र अपनाइने रणनीतिलाई लिएर पनि विभाजन हुने गर्छ । तर त्यो सङ्घर्षको राजनीतिको वेला वा दलको महाधिवेशन वा अन्य सामान्य बखतमा । सत्तारुढ दलहरुमा धेरैजसो विभाजनको कारण दलभित्रका ठूला नेताहरुको व्यक्तित्वको टकराब नै हुँदोरहेछ । खासगरी दलभित्र पद बाँडफाँट र सत्तामा रहेको बेला स्रोतमाथिको पहुँचमा नियन्त्रण चाहनेजस्ता कारणले नेताहरुले दल विभाजन गर्दा रहेछन् ।
यसको लागि फेरि नेकपाको हालको विवाद पर्याप्त उदाहरण हो । ओली र प्रचण्डबीच भएको पालैपालो प्रधानमन्त्री बन्ने भद्र सहमतिअनुसार प्रधानमन्त्री ओलीको कार्यकाल सकिनै लाग्दा अहिलेको विवाद सतहमा आएको छ । प्रधानमन्त्री भइसकेका तीन जना बलिया नेताहरु माधव नेपाल, झलनाथ खनाल र प्रचण्ड तथा जसरी पनि एक पटक प्रधानमन्त्री बन्ने चाहना बोकेका वामदेव गौतमजस्तो नेता एकै ठाउँमा उभिएका कारण, सत्तामा मन्त्री बाँडफाँट र राजनीतिक नियुक्तिहरुमा कसले कति पाउनेबारे तालमेल नमिलेर नै नेकपा विभाजनउन्मुख हुन पुगेको तथ्य अब लुकाएर लुक्ने कुरा रहेन ।
एकीकरण र विभाजनको यो राजनीति नेपालको सबै दलमा उत्तिकै छ । नेपाली काङ्ग्रेसदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० हुँदै मधेशी दलसम्म देखिएको शैली एउटै हो ।
मधेशी दलहरुमा फोरमको पटकपटकको विभाजन व्यक्तित्वको टकराबकै कारण भएको थियो । तमलोपा र सद्भावनाको कथा त्यसभन्दा भिन्न थिएन । उपेन्द्र यादवको नेतृत्वलाई नमानेर विजय गच्छदारले छुट्टै पार्टी चलाउन खोज्नुभएको थियो, नसकेपछि काङ्ग्रेसमा मिसिनुभयो । राजकिशोर यादव फेरि उपेन्द्र यादवको नेतृत्वमा आइपुग्नुभएको छ । कुनै बेला महन्त ठाकुरलाई नेता नमानेर महेन्द्र राय यादव तमलोपाबाट निस्किनुभएको थियो । तर, आज फेरि एकै ठाउँमा आइपुग्नुभएको छ । राजेन्द्र महतोसँग बस्न नसकेर अनिल झा निस्किनुभएको थियो । आज फर्केर त्यहीँ पुग्नुभएको छ ।
फरक पृष्ठभूमिका भए पनि डा। बाबुराम भट्टराई, अशोक राई, शरतसिंह भण्डारी वा राजेन्द्र श्रेष्ठको व्यक्तित्व कसैभन्दा कमजोर छैन । यी सबै नाम पहिलो पङ्क्तिमा रहेका नेताहरुका हुन् । तर दोस्रो र तेस्रो पङ्क्तिमा रहेका नेताहरुको सूची झनै लामो हुन सक्छ । तसर्थ जसपाको अगाडि सबैभन्दा ठूलो चुनौती भनेको नेताहरुको व्यवस्थापन हो । यो चुनौती लामो समयसम्म रहिरहने छ । मलाई लाग्छ, जसपाको आयु निर्धारण गर्ने प्रमुख ‘फ्याक्टर’ यही नै हो ।
यो पार्टीसामु दोस्रो चुनौती भनेको पार्टीको सङ्गठनमा कुन क्षेत्रलाई कति भार दिने भन्ने हो रु जसपालाई राष्ट्रिय पार्टी बनाउने भनिएको छ । तर यसको मतको आधारक्षेत्र मधेश रहेको छ । विगतमा मधेशी जनअधिकार फोरम र सङ्घीय समाजवादी पार्टीबीच एकीकरण भएर बनेको सङ्घीय समाजवादी फोरमलाई मधेशी र जनजातिहरुको पार्टी दाबी गरिएको थियो । तर, पछिल्लो निर्वाचनमा प्राप्त मतले त्यो प्रमाणित गरेन । जनजातिहरुको बसोबास क्षेत्रबाट खासै भोट आएन । बरु निर्वाचन परिणामले ससफो र राजपा दुबैको आधार क्षेत्र प्रदेश नम्बर २ का जिल्लाहरु रहेको देखायो ।
विगतका निर्वाचनहरुको तथ्याङ्कलाई टेकेर एकीकृत पार्टीको सम्भावित आधार क्षेत्र तराईका २० मध्ये १५ जिल्लालाई मान्न सकिन्छ । प्रदेशगत हिसाबले प्रदेश नम्बर २ बलियो आधार क्षेत्र रहिरहने छ । साथै प्रदेश नम्बर १ को तराई पहाड दुबैतिर र प्रदेश नम्बर ५ को तराईका जिल्लाहरु पनि ठिकठिकै आधार क्षेत्रको रुपमा विकास हुन सक्छ । तर अहिले तयार गरिने दस्तावेजहरुमा महाधिवेशन प्रतिनिधि कुन हिसाबले निर्धारण हुने हो रु कुन क्षेत्रको भार कति र कसरी छुट्टयाइने हो रु के सबै ७७ जिल्लालाई बराबर भार दिने हो रु वा सातै प्रदेशलाई बराबर भार दिने हो रु यदि राष्ट्रिय पार्टीको सिद्धान्तमा जाने हो भने अन्य राष्ट्रिय पार्टीहरु नेकपा र काङ्ग्रेसजस्तै गर्नुपर्ने हुन्छ । त्यसले मधेश आन्दोलनबाट आएका र विगत डेढ दशकदेखि मधेशी पार्टीहरुको जनाधार बनाउन परिश्रम गरेका कार्यकर्ताहरुमाथि कसरी न्याय होला रु मलाई लाग्छ, नवगठित पार्टीको सबैभन्दा नजिक रहेको चुनौती हो यो ।
जसपाको लागि तेस्रो ठूलो चुनौती भनेको समाजमा औचित्य स्थापित गर्नुसँग सम्बन्धित छ । जसपा अन्य पार्टीजस्तै नेकपा र काङ्ग्रेसभन्दा के मानेमा फरक हो रु यो प्रारम्भमै स्पष्ट गरिनुपर्छ ।
नेतृत्व पङ्क्तिमा देखिएका अनुहारहरुको आधारमा जसपालाई अधुरो इन्द्रधनुषी पार्टी भन्न सकिन्छ । तर समाजले यसकै आधारमा विश्वास गरिहाल्ने अवस्था छैन । यस पार्टीका नेताहरुले सबैभन्दा चर्को गरी उठाउँदै आएका सवाल विगतमा राज्यले गरेको विभेदसँग सम्बन्धित मुद्दाहरु हुन् । त्यसकारण पार्टीले भविष्यमा उठाउनुपर्ने मुद्दा भनेको सीमान्तकृतहरुसँग हुँदै आएको विभेदको अन्त्य गर्दै समावेशीकरणको आन्दोलनलाई नयाँ उचाइ दिने होला ।
जसपा आज बनेको पार्टी हो । तर यसका नेताहरुले विगत कयाँै वर्षदेखि भन्दै आएका छन् कि नेपाली समाजमा तीन वटा जातीय समूहको मोटामोटी उत्तिकै जनसङ्ख्या रहेको छ । तर, राज्यमा एउटा समुदायको मात्र वर्चस्व स्थापित हुन गयो । जसपाले इमान्दारीपूर्वक गर्ने राजनीति भनेको सीमान्तकृतहरुको समावेशीकरण कै हो ।
सीमान्तकृत समुदायहरुभित्र पनि अनेक तह र तप्का छन् । यहाँ आन्दोलन गर्ने एउटा तप्का हुन्छ र निर्वाचन जित्ने अर्को । यस्तै राज्यमा पुग्ने, सेवा सुविधा उपभोग गर्ने र राजनीति हाँक्ने तेस्रो तप्का देखिएको छ । यो अवस्था समग्र नेपाली समाजमै छ । तर मधेशमा विशेष प्रकारले फस्टाएको छ । मधेशी समाजको यो पक्षलाई बिर्सिन मिल्दैन । आन्दोलन गर्ने अधिकांशले राज्यमा पुग्ने वा राजनीतिको व्याकरण बुझेकै छैनन् । तिनलाई राजनीतिक रुपमा प्रशिक्षित गर्नु र सचेत बनाउनु जसपाको लागि सबैभन्दा प्राथमिक कार्यभार हुनुपर्ने हो । सीमान्तकृतको लागि राजनीति गरिरहेको भन्ने तर त्यसभित्रको अभिजात्य वर्गमात्रले सबै फाइदा लिने हो भने अन्य ठूला र परम्परावादी राजनीति गर्ने दलभन्दा जसपा कुन मानेमा फरक हुने छ ?
आजको मधेशी समाजको यथार्थ के हो भने समाजमा सम्बन्धहरु फेरिँदै छन् । पञ्चायत कालकोजस्तो सम्बन्ध प्रजातान्त्रिक कालमा रहेन । पञ्चायत कालमा मधेशमा रहेका पहाडेहरु र मधेशी जमिन्दारहरु ९जो प्रायः उच्च जात र केही मध्यम जातका हुन्थे०ले मात्र राजनीति गर्थे । प्रजातान्त्रिक कालसम्म थोरै परिवर्तन भयो । माओवादी जनयुद्ध र मधेश आन्दोलनपछि मधेशका परम्परागत राजनीतिक समूहहरु निर्वाचनमा सीमान्तकृत हुँदै गए भने यादव र साहजस्ता जातीय समूहको वर्चस्व स्थापित हुँदै गएको छ । आज चाहे प्रदेश नम्बर २ मा होस् वा त्यसबाहेकका जिल्लाहरुमा नै किन नहोस्, राजनीतिमा दलित र मुस्लिम समुदायको उचित पहुँच पुगिरहेको छैन, प्रतिनिधित्व भइरहेको छैन । यसमा चाखलाग्दो पक्ष यो छ कि मधेशी समाजभित्रका यी सीमान्तकृतहरुबारे विगतका पार्टीहरुमा फोरमभन्दा राजपाले बेसी कन्जुसी गरेको थियो ।
यदि जसपाले राज्य र राजनीतिमा सीमान्तकृत समुदायको हकहितको लागि लडने दाबी गर्छ भने यसले दलित, महिला र मुस्लिमलगायतका सीमान्तकृतहरुबारे के धारणा बनाउँछ र नेतृत्वमा कसरी समायोजन गर्छ रु नयाँ गठित दलको ढोकैमा उभिएका चुनौतीहरुमध्ये यो पनि एउटा हो ।




