पाँचखपन, संखुवासभाको पाँचखपन नगरपालिका ४ मा दुषित पानी खाँदा २५ जना बिरामी परेका छन् । आइतबार देखि वडा नं। ४ को होक्से माझ गाउँ टोलमा दुषित पानीका कारण झाडा पखाला लागेर बिरामी परेका छन् । बिरामी पर्नेमा ९ जना पुरुष र १६ जना महिला रहेका छन् भने ३ जना बालबालिका रहेका छन् ।

६ परिवारका २५ जनाले एउटै पानीको मुहान प्रयोग गर्ने र पानी दुषित भएकाले बिरामी परेको भेषराज वस्नेत (बिरामी)ले बताए । उनले भने कुवामा केही दिन अघि बाढी पसेको थियो, नजिकै अन्य पानीका मुहान नहुँदा फोहोर पानीले झाडा पखाला सुरु भएको वस्नेतले बताए । हिउँदमा मुहान सुक्यो, बर्खलागेपछी त्यही ठाउँमा फेरी मुहान फुट्यो, फोहोर पानीले महामारी ल्यायो उनले भने ।

उपचारका लागि पाँचखपन नगरपालिका स्वास्थ्य शाखाबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले घरैमा उपचार सुरु गरेको वडाध्यक्ष काजी बहादुर तामाङले जानकारी दिए । झाडा पखाला फैलिएपछी बुधबार साँझदेखि पाँचखपन नगरपालिका स्वास्थ्य संयोजक राजकुमार यादवको संयोजकत्वमा वाना प्राथमिक स्वास्थ्य केन्द्रबाट १ जना अहेव, लिङलिङ स्वास्थ्य चौकीबाट १ जना अहेव र शहरी स्वास्थ्य इकाईबाट १ जना अनमीको टोलीले बिरामीको उपचार गरि रहेको वडाध्यक्ष तामाङले जनगुनासोलाई जानकारी दिए।

प्रभावित क्षेत्रमा स्वास्थ्यका कर्मचारीहरुबाट उपचार भइरहेकाले नियन्त्रणमा रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी रोषन श्रेष्ठले बताए । यदी औषधी र स्वास्थ्यकर्मीको अभाव परेमा जिल्ला अस्पताल तयारी अवस्थामा रहेको श्रेष्ठले बताए । सिकिस्त बिरामी परेका भेषराज वस्नेत र उनकी नातिनी रोषिताको जिल्ला अस्पतालमा उपचारपछी घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया