संखुवासभा, षडानन्द नगरपालिका भोजपुरले क्लिप र विषाधी प्रयोग गरिएका रुद्राक्ष नष्ट गर्ने निर्णय गरेको छ । साउन २६ र २७ गते बसेको नगरसभाबाट विषाधी प्रयोग र क्लिप लगाएर उत्पादन गरिएका रुद्राक्ष नष्ट गर्ने निर्णय भएको नगर प्रमुख वीरबल राईले जानकारी दिए ।

गृह मन्त्रालयको पत्रअनुसार कुनै कृषक तथा व्यापारीले रुद्राक्षमा क्लिप लगाएको र दानामा विषाधी प्रयोग गरेको प्रमाणित त्यसमा संलगनलाई कारबाही गर्न भनेको छ सोही बमोजिम नगरसभाबाटै निर्णय भएको नगर प्रमुख राईले बताए । कृषकको हित तथा रुद्राक्षको दिगो व्यापारको लागि यस्तो निर्णय गरिएको राईको भनाइ छ ।

तर, निश्चित व्यापारीले विषाधी भनेर परिभाषित गरे पनि त्यो विषाधी नभएर भिटामिन, मलखाद भएको कृषक देवराज पुरीले बताए । कृषकले रुद्राक्षमा किरा, कमिला नलागोस् भनेर प्रयोग गरेको औषधि (फर्टिलाइजर)लाई विषाधी भनेर व्यापारीले गलत प्रचार गरिरहेको पुरीले बताए ।

कृषकले (फर्टिलाइजर) प्रयोग गर्दा कृषि प्राविधिकको परामर्श लिएर प्रयोग गरेको र यस्ले रुद्राक्ष उत्पादन बढाउन सहयोग गर्ने भएकाले यो विषाधी नभएको बताए । पुरीका अनुसार यो प्रयोग गर्दा रुद्राक्षको बोट र वातावरणलाई कुनै किसिमको असर गर्दैन। तर, रुद्राक्षको क्वालिटी युक्त उत्पादन गर्नका लागि कृषकहरूले औषधि प्रयोग गर्दा नष्ट गर्ने नगरपालिकाको निर्णय प्रति पुरीले आपत्ति जनाए ।

दुई वर्षअघिसम्म चिनियाँ व्यापारी कृषकका घरसम्म पुगेर रुद्राक्ष खरिद गर्दा निश्चित व्यापारीको स्वार्थका कारण प्रशासन प्रयोग गरेर चिनियाँ व्यापारी गाउँ जानमा रोक लगाइएको थियो ।

चिनियाँ व्यापारीलाई बिक्री गर्दा हुने नाफा सुरक्षित गर्नका लागि व्यापारीले चिनियाँ व्यापारीलाई कृषकसम्म जान रोक लगाएको उनले बताए । अहिले कृषकले प्रयोग गरेको औषधिलाई विषाधी भनेर ती नै व्यापारीले कृषकमाथि नै खेलबाड गरेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया