पाँचखपन, गएरातीको अविरल वषाका कारण पाँचखपन नगरपालिका १ का विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण १३ घर उच्च जोखिममा परेको छ । बिमल सिंथा, मिन बहादुर बुढाथोकी, रोषनसिं लाखे, प्रदिप कुमार पुरी, प्रकाश पुरी, राजकुमार तामाङ, नारायण तामाङ, कुमारी राई, दुर्गा बहादुर राई, विष्णु माया राई, देवी माया लिम्बु, भीम राई र प्रेम कुमार राईको घर पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष टेक बहादुर बुढाथोकीले बताए ।

बुधबार वडाध्यक्ष, प्रहरी र स्थानीयले पहिरोको क्षति विवरण संकलन गरी उनीहरुलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको उनले बताए । यस्तै १ र ३ नं. वडाको सिमानामा पर्ने ठाडे खोलामा आएको बाढीले वडा नं. ३ का दिल कुमार जती र माधव जतीको अलैची बगान बगाएको छ । वडा नं. १ कै हाङ्दुवा खोलाले कुसुवा देउराली जाने सडकका विभिन्न स्थानमा पहिरो गएको छ भने केही स्थानमा सडक बगाएको बुढाथोकीले जानकारी दिए ।

पहिरोले चैनपुर बाह्रबिसे सडक खण्ड अन्तर्गत पाँचखपन–बाह्रबिसे सडकखण्ड पूर्ण रुपमा अबरुद्ध भएको छ । नगरपालिकाले चैनपुर बाह्रबिसे सडक मर्मत गरी सुचारु गराउन जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, ग्रामिण पुर्वाधार विकास कार्यालय र एसएनआरटिपीलाई अनुरोध गरेको छ । उक्त सडकखण्डमा एसएनआरटिपीले काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया