lit lamp

शापु (SHAPU) एक दृष्टि नाशक आँखाको रोग हो । यो रोग प्रायः नेपाली बालबालिकाहरुमा वि.सं. २०३२ (सन् १९७५) देखि देखापरेको छ । प्रायः वर्षायामपछि भदौदेखि मंसिर महिनासम्म विशेष गरि नेपालको मध्य पहाडी भेगमा शापु महामारीको रुपमा देखा पर्ने गरेको छ ।

रोगको लक्षणहरु देखा परेको २४ देखि ४८ घण्टा भित्रै उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्ने तथ्याङ्कले पुष्टि गरेको छ । सेतो पुतलीको झुसको कारण लाग्ने यो रोग पोखराबाट उत्पति भएको चिकित्सकको दावी छ । लामो अनुसन्धानपछि डाक्टर मदन कुमार उपाध्यायले यो रोगको नाम शापु दिएका हुन ।

कसरी चिन्ने सापु फैलाउने पुतली ?
सेतो पुतलीका प्रजाति करिब तीन सय छन् । त्यसमध्ये एक प्रजातिको सेतो पुतलीमा शिरतिर तेर्सो र पखेटातिर ठाडो कालो धर्काे हुन्छ । यो उज्यालो वस्तु बत्ती, पर्दा, कपडा, झ्यालमा बढी आकर्षित हुने गर्छ । धेरैजसो पोथी सेतो पुतलीले अण्डा ढाक्न प्रयोग गर्ने झुसका कारण यो रोग फैलिने गरेको छ । सो पुतलीले अण्डा कोरल्ने समयमा झुस छाड्छ र त्यो झुस आँखामा प¥यो भने यो रोग लाग्ने खतरा हुन्छ ।

कारण
हालसम्म सेतो पुतली (मोथ) लाई सापुलाई कारकको रुपमा जोडिने गरिएको छ । तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका विरामीहरुमा पनि यो रोग देखा परेको छ । साथै अन्य कारणहरुमा सुक्ष्म जिवाणु एवं विषाणु समेत रहेको पाइएको छ । तर हालसम्म यो रोगको कारक यहि नै हो भनेर यकिन भएको छैन ।

लक्षण तथा चिन्हहरु
एकासी एउटा आँखा रातो हुनु ।
चिप्रा नलाग्नु ।
उज्यालोमा हेर्न नसक्नु ।
आँखाको दृष्टिमा तत्कालै कमी हुनु ।
आँखाको दुखाई सामान्य वा बढि हुनु ।
उपचारमा ढिला भएमा कालो नानीमा सेतो देखिनु ।

निदान तथा उपचार
यो रोगको निदान तथा उपचार आँखा विभागरअस्पतालहरुमा मात्र गर्ने गरिन्छ । सापुको आकस्मिक उपचार सेवा आँखा भित्र औषधि सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रिया समेत गर्ने गरिन्छ । समयमानै उपचार भए मात्र आँखा निको हुन्छ । तर ढिला हुन गएमा विरामिको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ ।

सापु रोग लाग्नबाट बच्नका लागि
सेतो पुतली (मोथ) को संसर्गबाट टाढै रहने ।
धेरै उज्यालो सेतो बत्ति नबाल्ने ।
साझ र राती झ्याल ढोका बन्द राख्ने ।
सम्भव भए सम्म झ्यालको ढोकामा जाली हाल्ने ।
सुत्ने कोठामा बत्ति निभाएर वा मधुरो बत्ति बाले झुल भित्र मात्र सुत्ने ।

नियन्त्रण
रोगको लक्षण देखा परेमा वा शंका लागेमा तुरुन्तै आँखा उपचार केन्द्र वा अस्पताल जाने ।
आफू खुसि कुनै पनि औषधी वा जडिबुटि नराख्ने ।
आँखा स्वस्थ्यकर्मीहरुको सल्लाह बमोजिम उपचार गर्ने ।

संखुवासभामा पछिल्लो तीन–चार वर्षको अवधिमा सेतो पुतलीको प्रकोप बढ्दै गएको छ । ९ जनामा यो रोग देखा परेको छ भने सात जनाले आँखाको ज्योति नै गुमाइसकेका छन् । उपचारमा अविभावकको लापरबाही र सापु रोग पहिचान नहुनुले यो रोग लागेका अधिकांशले आँखाको ज्योती गुमाउनु परेको छ ।

गाउँसम्म स्वास्थ्यको पहुँच नहुनु, भएका स्वास्थ्य चौंकीमा आँखा जाँच, उपकरण र चिकित्सक नहुनु शापु रोगको मूख्य चुनौंती बन्दै गएको छ ।

-क्षितिज बराल

तपाईको प्रतिक्रिया