काभ्रे : ‘लकडाउन’ ले सदिक्षाको दैनिकीलाई खासै फरक पारेको छैन। काभ्रे पनौती चिन्दु रोशीकी सात वर्षीया सदिक्षा गुरुङ सधैँजसो मंगलबार पनि बिहानै उठेर आमासँगै घाँस काट्न गइन्। आठ नबज्दै उनले डोकोभरी घाँस लिएर घरआइपुगेकी थिइन्।‘लकडाउन’मा पनि बिहानै डोकोभरी घाँस भन्दा उनी फिस्स हाँसिन् मात्र। उनलाई लकडाउन बारे खासै थाहा छैन। थाहा हुनु जरुरी पनि छैन। किनकी ‘लकडाउनु’ले उनको दैनिकीमा कुनै परिवर्तन आएको छैन।
सधैँजसो गाउँघर शान्त नै छ। मानिसहरू आआफ्नो दैनिकीमा रमाएका छन्। सहरमा जस्तो कोरोनाको कोलाहल गाउँमा छैन। सदिक्षाले मंगलबार पनि केही फरक अनुभव गरेकी छैनन्।
सदिक्षालाई पनि कोरोनाको त्यति त्रास छैन। उनी आफ्नो दैनिकीमा रमाएकी छिन्। कोरोना संक्रमणका कारण स्कूल बन्द भएपछि उनी फुर्सदमा छिन्। दिनभर उनी घरको कामकाजमा सघाउँछिन् अनि साथीसँगीसँग खेलेर रमाउँछिन्।
सदिक्षासँग भेटिएकी उनकी आमा भन्छिन्, ‘हामीलाई त कोरोना न फोरोना । सहरलाई बस्नेलाई होला । हामीलाई केही थाहा छैन। हामी यहाँ ठीकै छौं।’







