पाँचखपन, संखुवासभाको पाँचखपन नगरपालिकाका १ सय ८६ जना महिला तथा किशोरीले सुरक्षित गर्भपतन गराएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या यस्तो रहेको सोडेकका कार्यक्रम अधिकृत कमानसिं राईले बताए । नगरपालिकाका विभिन्न वडाबाट जिल्लाका सुचिकृत स्वास्थ्य संस्थामा गर्भपतन गराउनेको संख्या १ सय ८६ रहेको छ ।
यस्तै नगरपालिका स्थित वाना प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भपतन गराउनेको संख्या १ सय २८ रहेको अधिकृत राईले बताए । राईका अनुसार वडा नं. १ र ४ बाट २२/२२ जना, वडा नं. २ र ८ बाट १७/१७ जना, वडा नं. ३ बाट २७ जना, वडा नं. ५ बाट २१ जना, वडा नं. ७ बाट १९ जना रहेको राईले बताए । यस्तै सबै भन्दा बढी वडा नं. ६ मा ३० जनाले गर्भपतन गराएका छन् भने वडा नं. ९ मा सबैभन्दा कम ११ जना रहेको राईले बताए ।
वाना प्राथमिक स्वास्थ्य केन्द्र बाहेक जिल्ला अस्पताल खाँदबारीबाट ५२ जना, चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट ५ जना र बाह्रबिसे स्वास्थ्य चौकीबाट १ जनाले सेवा लिएको राईले बताए । आर्थिक वर्ष २०७४/०७५ को तथ्यांक अनुसार गत आवमा सुरक्षित गर्भपतन गराउनेको संख्या ४६ प्रतिशतले बृद्धी भएको राईले बताए । आर्थिक वर्ष २०७४/०७५ मा पाँचखपनका ८६ जनाले गर्भपतन गराएका थिए ।
विशेष गरी जनचेतना, स्वास्थ्य सेवाको पहुँच र सेवा सम्बन्धी जानकारीका कारण सुरक्षित गर्भपतन गराउनेको संख्या बृद्धी भएको राईले बताए । सुरक्षित गर्भपतन सेवा संखुवासभाका सुचिकृत १५ ओटा स्वास्थ्य संस्थाबाट निशुल्क सेवा सञ्चालनमा रहेको राईले बताए ।
सोमबार पाँचखपन नगरपालिकामा सुरक्षित गर्भपतन सेवा सम्बन्धी सुदृढीकरण कार्यक्रममा राईले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । समाज विकास केन्द्र (सोडेक) र आइपास नेपालको आयोजनामा वाना सामुदायिक भवनमा कार्यक्रम सम्पन्न भएको हो ।









