संखुवासभा, मकालु गाउँपालिका अध्यक्ष पदका लागि सातवटा राजनीतिक दलले उम्मेद्धवारी दर्ता गराएका छन् । मकालु गाउँपालिकामा रहेको निर्वाचन कार्यालय अधिकृतको कार्यालयमा बुधबार सातवटा दलले उम्मेद्धवारी दर्ता गराएका हुन् ।
अध्यक्ष पदका लागि सत्तारुढ दल नेकपाका तर्फबाट तेजबहादुर पोख्रेल, कांग्रेसबाट विमन पराजुली, संघीय समाजबादी नेपाल बाट नर्बु शेर्पा, राप्रपा नेपालबाट मेघनाथ राई, राप्रपा संयुक्तबाट मनबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पाटीबाट रमेश राई र संघीय लोकतान्त्रिक मञ्चबाट कविता राईले उम्मेद्धवारी दिएको निर्वाचन अधिकृत तिलक बहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै खाँदबारी नगरपालिका–३ को अध्यक्ष पदका लागि दुई दलले मात्र उम्मेद्धवारी दिएका छन् । मकालु गाउँपालिकामा मकालुमा ९ हजार १ र खाँदबारी–३ मा १८ सय २२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको जीप दुर्घटनामा परेर ३० पुस २०७४ मा मृत्यु भएको थियो । खाँदबारी–३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको १३ फागुन मा हृदयाघातका कारण मृत्यु भएको थियो । निर्वाचित दबै अध्यक्ष तत्कालीन एमालेबाट विजयी भएका हुन् ।
दुई वटै स्थानीय तहमा सतारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । गाउँपालिका अध्यक्ष पदमा उपनिर्वाचनमा समाजवादी पार्टी नेपाल, राप्रपा नेपाल , संघीय लोकतान्त्रिक मञ्चलगायत साना दलबाट समेत उम्मेद्धवारी दर्ता गरेका छन् ।





