संखुवासभा : संखुवासभा जिल्लामा पनि चार जना डेंगुका विरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए। डेंगु खाँदबारी नगरपालिका भित्रैका चार जनामा फेला परेको स्वास्थ्य कार्यालयका प्रमुख बाह्रकोटीले बताए।  डेंगुको विरामी जिल्ला अस्पताल खाँदबारीमा भदौ ११ गते फेला परेको जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डन लक्ष्मण खड्काले बताए।

एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो डेंगु  संक्रमित संखुवासभामा पनि भेटिएको निमित्त प्रमुख खड्काले बताए। डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने निमित्त प्रमुख खड्काको भनाइ छ।

संखुवासभा जिल्ला अस्पताल खाँदबारीमा उपचार गराउन आएका खाँदबारी नगरपालिका ८ ३० वर्षीय पुरुषलाई ल्याब परीक्षण गरेर हेर्दा डेंगु फेला परेको खड्काले बताए। उनले भने, ‘मनकामना पोलिक्लिनिक तुम्लिङटारमा दुई र गोपालभगत मेमोरियल अस्पतालमा एक गरी चार जना फेला परेको छ।’ डेंगु संक्रमित दुई जना विरामीलाई संखुवासभाबाट धरान रिफर गरिएको जनाइएको छ। डेंगु संक्रमित अन्य दुईको जिल्लामै उपचार भइरहेको बताइएको छ।

कस्तोमा बस्छ लामखुट्टे?  यसले स-साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ। खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्दछ। सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मण खड्काले बताए।

-थाहा खबरबाट

तपाईको प्रतिक्रिया