संखुवासभा, गीत संगीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । तिहार आउनै लाग्दा संखुवासभाको खाँदबारीमा मादल बिक्रि सुरु भएको छ । चाडपर्वलाई लक्षित गरि सदरमुकाम खाँदबारी लगायत जिल्लाका अन्य बजारहरुमा समेत मादल बिक्रि गर्न थालिएको छ । तिहारमा देउसी, भैलो खेल्दा मादल प्रयोग हुने भएकोले तिहार लक्षित मादल बिक्रि सुरु भएको छ । तिहारमा मादलको बढी व्यापार हुन्छ ।
एउटा मादलको मूल्य १ हजार देखि १० हजारसम्म पर्ने गरेको छ । अर्थात सानो र ठूलो मादलको मूल्य फरकफरक पर्छ । डम्बर कुमारी विशुंके १८ वर्ष अघिदेखि खाँदबारीमा मादल व्यवसाय गर्दै आएकीे छिन् । मादलबाट वार्षिक १ लाख ५० हजार आम्दानी हुने गरेको उनी बताउँछिन् ।
केही वर्ष अघिसम्म ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाच गान गर्ने चलन थियो । तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउसी भैलो खेल्नेहरुको थुप्रै समूह पाइन्थ्यो । तर आधुनिकतासंगै मौलिक बाजाको प्रयोग कम हुँदै गएको छ ।
विद्युतीय बाजाको प्रयोग बढ्न थालेपछि मादको महत्व कम हुँदै गएको हो । डिजिटल गीत संगीतको कारण मादल नै संकटमा पर्न थालेको छ । जसले गर्दा यो व्यवसायमा लागेकाहरुलाई भने झनै समस्या पर्दै गएको छ । पहिलेपहिले जोर मादल बजाएर आँगनमा देउसी खेलिन्थ्यो तर अहिले क्यासेट बजाएर सिकुवामा देउसी खेल्ने चलनले मादल लोप भएको पाँचखपन १ का रणबम लोहारले बताए ।
बिद्युतीय बाजाको प्रयोगका कारण मादल बनाउने पेशा अंगालेका व्यक्तिहरुको व्यवसाय नै संकटमा पर्दै गएको छ । विद्युतीय बाजा सस्तोमा पाइने भएकाले मादल बिक्रि वितरण कम हुँदै गएको छ । जसका कारण मादल बजाउनेकै संख्या पनि कम हुँदै गएको छ । यसको संरक्षणतर्फ सम्बन्धित निकायको ध्यान गएको छैन ।









