मादी, मादी नगरपालिका–७, बाघाको हेमन्त खेल मैदानमा लिङथेप कल्याणकारी समितिद्वारा आयोजित चासोक तङनाम– ५०७९ भव्यताकासाथ सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सुबेदार तुलाराम लिङथेपको अध्यक्षतामा सम्पन्न कार्यक्रमको विशिष्ट अथिति किरात याक्थुङ चुम्लुङकी केन्द्रीय सदश्य शान्ता मुसाहाङ लिम्बुले शुभकामना मन्तव्य दिएका थिए । उनले यो चाड लिम्बु जातिको मात्र नभई सम्पूर्ण नेपालीको भएकाले राज्यले धार्मिक विभेद नगरी नेपाल भरी नै बिदा दिईनु पर्ने माग राखे ।

कार्यक्रममा सो संस्थाद्वारा आयोजित प्रतियोगितात्मक केलाङ (च्याब्रुङ), यालाङ (धान नाच), हाक्पारे लगायत विभिन्न पाँच विधामा ११ जना विजयी प्रतिस्पर्धीहरुलाई नगद र प्रमाणपत्र वितरण गरिएको किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य उत्तर कुमार लिङथेपले बताए ।

किरातवंशी लिम्बु, राई, याक्खा र सुनुवार समेतले उधौली (न्वागी) पर्वको रुपमा यो पर्वलाई धुमधामकासाथ मनाउने गर्दछन् । यही समयमा जाडोका कारण लेकका चरा, जनावर तथा मानिसहरु पनि बेंसी तर्फ झर्ने हुनाले उधौली पर्व र नयाँ बाली पितृहरुलाई चढाईने परम्परा रहेकाले यस पर्वलाई चासोक थिसोक पनि भन्ने गरिन्छ ।

प्रकृतिपूजक लिम्बुहरु यस पर्वलाई आफ्नो पहिचानको रुपमा ग्रहण गर्दछन् । यस पर्वका दिन पूजापाठ गरी नाचगानका साथै धनुर्वाण, छेलो आदि परम्परागत खेलहरु समेत खेल्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया