संखुवासभा, संखुवासभाको दुई स्थानीय तहमा भएको उपनिर्वाचनमा शान्तिपूर्ण ढंगमा मतदान सम्पन्न भएको छ । जिल्लाको खाँदबारी नगरपालिका ३ र मकालु गाउँपालिकाको प्रमुख पदको लागि भएको उपनिर्वाचनमा १० वटै मतदान स्थलमा शान्तिपुर्ण मतदान भएको जिल्ला निर्वाचन अधिकारी चोलाराज दंगालले बताए ।
जिल्लामा साँझ ५ बजे सम्ममा ६५ प्रतिशत मत मतदान भएको दंगालले बताए । मकालु गाउँपालिकामा ९ वटा मतदान स्थल रहेको थियो भने खाँदबारी ३ मा १ मतदान स्थल रहेको थियो ।
मकालुको सम्पूर्ण मतदान स्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालय मकालु ल्याउने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले बताए । मकालुको नुम बजार मतदान स्थल बाहेकका अन्य मतदान स्थलबाट मतपेटिका ल्याउने क्रम भइरहेको छ । मकालुका नुम बाहेकका मतदान स्थल लामो दुरीमा पर्ने भएकाले मतपेटिका निर्वाचन अधिकृतको कार्यालय मकालु ल्याउन समय लाग्ने छ ।
सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर कडा सुरक्षा व्यवस्थाका साथ मतपेटिका ल्याउने क्रम जारी रहेको प्रजिअ दुलालले बताए ।
यता खाँदबारी नगरपालिका ३ को महेन्द्र मावि मानेभञ्ज्याङ मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय खाँदबारी ल्याइसकिएको मुख्य निर्वाचन अधिकृत शान्ति प्रसाद आचार्यले बताए ।









