प्रतिनिधिसभा बैठकको शून्य तथा विशेष समयमा बिहीबार सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद हृदयेश त्रिपाठीले किसानले मल नपाउनुले आफूलाई चिन्तित तुल्याएको बताए । उनले अहिलेको बजेट निबन्ध मात्रै भएको आरोप लगाए । यस्तो निबन्धले सरकारले हासिल गर्ने भनेको कृषि उत्पादनको लक्ष्य हासिल गर्न नसक्ने टिप्पणी उनले गरे ।
सांसद डिला संग्रौलाले सरकार जिम्मेवारीप्रति वफादार नभएको आरोप लगाइन् । समयमै किसानले मल नपाउनु, विद्यार्थीले पाठ्यपुस्तक नपाउनु जस्ता कुराले सरकारले जिम्मेवारीप्रति वफादार नभएको पुष्टि भएको उनको टिप्पणी छ ।
सांसद पुष्पा भुसालले कोरोना बिमाको रकम तत्काल उपलब्ध गराउन माग गरिन् । तत्कालीन समयमा बिी रकम दिने भनेका बिमा गरेका कम्पनीहरूले किन उपलब्ध गराएनन् भनेर उनले प्रश्न उठाइन् । उनले विगतमा कोरोना बिमाको रकम दिने सहमति भएको र पटक–पटक कोरोना बिमा दिनू भनी सर्वोच्च अदालतले पनि आदेश गरिसकेको उनले स्मरण गराइन् ।
सांसद नारायणप्रसाद खतिवडाले काठमाडौंको फोहोर नुवाकोटको बन्चरेडाँडामा व्यवस्थापन गर्ने भए त्यहाँका जनताका माग पूरा गर्नुपर्ने बताए । बल प्रयोग गरेर त्यहाँ फोहोर व्यवस्थापन गर्ने कार्य बन्द गरिनुपर्ने उनको माग छ । सांसद खतिवडाले फोहोर व्यवस्थापनका नाममा जनतामाथि सुरक्षाकर्मी लगाएर बल प्रयोग नगर्न आग्रह गरे ।
सांसद नवराज सिलवालले संसद्मा उठेको विषयलाई सरकारले गम्भीर रुपमा नलिएको गुनासो गरे । संसद्मा एउटै कुरा पटक–पटक उठ्ने गरेको तर सरकारले संसद्मा उठेका कुरालाई गम्भीर रुपमा नलिएको उनले बताए । निजी अस्पतालले महँगो शुल्क लिने गरेको भन्दै यसमा अनुगमन नभएको उनले बताए ।
सांसद पद्माकुमारी अर्यालले त्रिभुवन विश्वविद्यालयमा गृहमन्त्रीकै निर्देशनमा ताला लगाइएको आरोप लगाइन् । उनले गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरीलाई साक्षी राखेर त्रिवि पदाधिकारीका कार्यकक्षमा ताला लगाइएको बताइन् ।
सांसद प्रकाशमान सिंहले काठमाडौंमा ट्राफिक जाम बढेको भन्दै स्कुल र अफिस जाने समय फेर्न सुझाव दिए । सांसद सिंहले काठमाडौंमा स्कुल र अफिस जाने समय एउटै भएकाले उक्त समयमा ट्राफिक जाम बढ्ने गरेको तर्क गरे ।
सांसद पवित्रा निरौला खरेलले संसद्मा मन्त्री र अरु सांसदका विषयमा देखिएको विभेदका विषयमा प्रश्न उठाइन् । उनले मन्त्री काम गर्न र बाँकी सांसद ताली बजाउन मात्रै आएका हुन् रु भन्दै प्रश्न उठाएकी हुन् ।
सांसद नवीना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गरी किताब छाप्ने जिम्मा निजी क्षेत्रलाई दिन प्रस्ताव गरिन् । किताब छापेर दिने जिम्मेवारी पूरा गर्न नसक्ने जनक शिक्षा सामग्री केन्द्र किन चाहियो भन्दै उनले प्रश्न गरिन् । उनले जनक शिक्षाले पाठ्यपुस्तक दिन नसक्ने कुराको जवाफ जनक शिक्षाका उच्च व्यवस्थापकले दिनुपर्ने बताइन् ।
सांसद पार्वती विसुन्केले दलित विद्यार्थीलाई भर्ना नगर्ने ललितपुरको गुरुकुललाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरिन् । उनले गुरुकुलले नियोजित रुपमै दलित समुदायमाथि जातीय भेदभावको भावना राखेको पाइएको भन्दै कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

तपाईको प्रतिक्रिया