काठमाण्डौ – म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको जनप्रदर्शनलाई सेनाले दबाउने प्रयास गरेको छ । म्यानमारका शहरका सडकमा सेना बख्तरबन्द गाडीसहित निस्कन थालेका छन् भने इन्टरनेट सेवा समेत बन्द गरिएको बीबीसीले जनाएको छ ।
केही ठाउँमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका खबर आए पनि औपचारिक रुपमा पुष्टि हुन भने बाँकी छ । म्यानमारमा गएको फेब्रुअरी १ तारिखमा भएको सैन्य ‘कू’ को विरोधमा लगातार विरोध प्रदर्शन भइरहेको छ । यहि विरोध प्रदर्शन दबाउन सेना बख्तरबन्द गाडीसहित सडकमा निस्केका हुन सक्ने अनुमान गरिएको छ ।
यसबीचमा नै संयुक्त राष्ट्र संघका एक अधिकारीले म्यानमारका सेनाले नागरिकविरुद्ध युद्धको घोषणा गरेको आरोप लगाएका छन् । रातको समयमा छापा मार्ने र पक्राउ गर्ने जस्ता हर्कत सेनाले गरेको भन्दै उनले नागरिकको अधिकार हनन् गरिरहेको बताएका खबरमा उल्लेख छ । यस्तै, युरोपेली संघ, अमेरिका र बेलायतले म्यानमारका सेनालाई प्रदर्शनकारीमाथि हिंसा नगर्न अपिल गरेका छन् ।