अन्टार्कटिकाको ताजा हिउँमा पहिलो पटक प्लास्टिकका टुक्रा भेटिएका छन् । जमेको हिउँमा यसअघि नै प्लास्टिकका टुक्रा भेटिएको तर ताजा हिउँमा पहिलो पटक प्लास्टिकका टुक्रा भेटिएको न्युजिल्यान्डका वैज्ञानिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

न्युजिल्यान्डको क्यान्टरबरी विश्वविद्यालयका अनुसन्धानकर्ताले अन्टार्कटिकाका १९ वटा विभिन्न ठाउँबाट सङ्कलन गरेको ताजा हिउँ पगाल्दा प्रतिलिटर २९ वटासम्म पलास्टिकका साना टुक्रा फेला पारेका छन् । केही टुक्रा चामलको दाना जत्रा र केही नाङ्गो आँखाले देख्न नसकिने खालका रहेका छन् । हिउँमा १३ प्रकारका प्लास्टिक पाइएको र सबैभन्दा धेरै ७९ प्रतिशत खानेपानीको बोत्तल र कपडामा प्रयोग हुने प्लास्टिक रहेको खबरमा उल्लेख छ ।

गएको वर्ष नेशनल एकेडेमी अफ साइन्सको एउटा अध्ययनले विश्वभर माइक्रोप्लास्टिक अर्थात् प्लास्टिकका साना टुक्रा संसारभर फैलिइरहेको देखाएको थियो । धुलो, हावा र समुद्री छालको माध्यमबाट प्लास्टिक फैलिइरहेको अध्ययनमा उल्लेख छ ।

वैज्ञानिकहरूले यसअघि सगरमाथा र समुद्रको गहिराइमा पनि माइक्रोप्लास्टिक फेला पारिसकेका छन् । यसले वातावरण संरक्षणमा ठूलो चुनौती थपेको वैज्ञानिकहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया