काठमाण्डौ । आईसीसी १९ वर्षमुनि (यू–१९० को महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएको छ ।

मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा आज बिहीवार भएको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले हराएको हो । यस खेलसँगै नेपालको विश्व कप खेल्ने सपना सकिएको छ ।

नेपाल छनोटमा ६ अङ्क जोड्दै तेस्रो स्थानमा रह्यो । नेपालले पाँच खेलमा तीन जित र दुई हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा संयुक्त अरब इमिरेट्सँग ९यूएई० १० विकेटले पराजित भएको थियो ।

त्यस्तै तेस्रो खेलमा नेपालले भुटानलाई चार विकेटले हराएको थियो भने चौथो खेलमा नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको थियो । यस हारसँगै मलेसिया पाँच खेलमा चार अङ्क जोडेर चौथो स्थानमा रह्यो । छनोटमा यूएई आठ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्यान्ड आठ अङ्क जोडेर दोस्रो स्थानमा छ । आज हुने थाइल्यान्ड र यूएईबीचको खेलले विश्व कपमा पुग्ने टोलीको निर्धारण गर्नेछ ।

आजको खेलमा नेपालले दिएको ८७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६१ रनमा समेटियो । मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक २८ रन जोडिन् । त्यसबाहेक अन्य ब्याटरले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् । नेपालकी कप्तान कृतिका मरासिनीले दुई विकेट लिइन् भने मनिषाकुमारी उपाध्यायले एक विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८६ रन बनाएको थियो । नेपालका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रनको योगदान दिइन् भने आश्मा पुलामी मगरले २६ रन जोडिन् । त्यसैगरी सृष्टि जैशी, सानु राजवंशी र अनु कठायतले समान तीनरतीन रन जोड्दा कृतिका मरासिनीले एक रन जोडिन् । मलेसियाकी नुर सामेदले दुई विकेट लिइन् ।

छनोटमा नेपालसहित, मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले आउँदो वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ को विश्व कप खेल्नेछ ।

तपाईको प्रतिक्रिया